पहिलो संस्करणको च्याम्पियन जनकपुरविरुद्ध दुईपटकको उप–विजेता सुदूरपश्चिमको टक्कर !

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार एकमात्र खेल हुँदैछ । उक्त खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता हो । सुदूरपश्चिम रोयल्स भने दुवै संस्करणको उप–विजेता टोली हो ।

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिवा–रात्रि रूपमा १७:०० बजे शुरू हुनेछ ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स दुबैले आफ्नो छैटौँ खेल खेल्न लागेका हुन् । जारी सिजनको एनपीएलमा खेल्न लागिएको यो २१औँ खेल हो ।

अंक तालिकामा जनकपुरको तुलनामा सुदूरपश्चिमको अवस्था केही बलियो देखिन्छ । पाँचमध्ये तीन खेलमा जीत र दुई खेलमा हारको नतिजा निकालेको सुदूरपश्चिम ६ अंकसहित तेस्रो स्थानमा छ ।

जनकपुर बोल्ट्सले भने पाँचमध्ये दुई खेलमा जीत र तीन खेलमा हारको नतिजाबाट चार अंक बटुलेको छ । जनकपुर तालिकाको पाँचौँ स्थानमा आसिन छ ।

त्यसैले मंगलबारको खेलमा पराजित भए जनकपुर बोल्ट्सको प्ले–अफ चरणमा पुग्ने सम्भावना निकै कठिन बन्ने देखिन्छ ।

सुदूरपश्चिम रोयल्सले हारबाट तेस्रो संस्करणको शुरूआत गरेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिमको टोली साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको सुदूरपश्चिमको टोली तेस्रो खेलमा भने विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको थियो ।

चौथो खेलमा भने सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको थियो । आफ्नो पाँचौँ खेलमा सुदूरपश्चिमले साविक विजेता कर्णाली याक्सलाई ३९ रनले हराएको थियो ।

यद्दपि, अघिल्ला दुबै संस्करणको लिग चरणमा अब्बल प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणमा भने सोचेजस्तो खेल्न सकेको छैन ।

अर्कोतिर, जनकपुर बोल्ट्सको टोलीले पनि हारबाट तेस्रो संस्करणको शुरूआत गरेको थियो । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

त्यसपछि लयमा फर्किएको जनकपुरले आफ्नो दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई आठ विकेटले र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हराएको थियो ।

आफ्नो चौथो खेलमा भने जनकपुर बोल्ट्सको टोली छिमेकी प्रतिद्वन्द्वी विराटनगर किङ्ससँग रोमाञ्चक भिडन्तमा केवल दुई रनले पराजित भएको थियो ।

जनकपुर बोल्ट्सको टोली आफ्नो पाँचौँ खेलमा भने साविक विजेता लुम्बिनी लायन्ससँग १६ रनले पराजित हुन पुगेको हो ।

जारी सिजनको एनपीएलमा सुदूरपश्चिम रोयल्सले बनाएको उच्च स्कोर ६ विकेट गुमाएर एक सय ७६ रन हो । सुदूरपश्चिमले यो स्कोर कर्णाली याक्सविरुद्धको खेलमा बनाएको थियो ।

जनकपुर बोल्ट्सले बनाएको उच्च स्कोर भने सात विकेट गुमाएर एक सय ७२ रन हो । जनकपुरले यो स्कोर विराटनगर किङ्सविरुद्धको खेलमा बनाएको थियो ।

जनकपुर बोल्ट्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सैफ हसन हुन् । उनले चार खेलमा एक अर्धशतकको मद्दतले कुल एक सय ४० रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने ईशान पाण्डे हुन् । उनले पाँच खेलको चार पालीमा कुल ९२ रन बनाएका छन् ।

यसैगरी, जनकपुर बोल्ट्सका लागि सर्वाधिक विकेट लिने बलर राहुल यादव हुन् । यी युवा बलरले पाँच खेलमा आठ विकेट लिइसकेका छन् ।

सुदूरपश्चिम रोयल्सका लागि सर्वाधिक विकेट लिने बलर भने अनिल खरेल हुन् । उनले पाँच खेलको चार पालीमा सात विकेट लिएका छन् ।

एनपीएलको इतिहासमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हालसम्म चारपटक भिडन्त भएको छ । त्यसमध्ये तीन खेलमा सुदूरपश्चिम र एक खेलमा जनकपुर विजयी भएका छन् ।

सन् २०२४ मा आयोजीत एनपीएलको पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको थियो ।

सोही संस्करणको पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गरेको थियो ।

तर, रमाइलो संयोग के हो भने, सोही संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले स्तब्ध: पार्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको थियो ।

यसैगरी, सन् २०२५ मा आयोजीत दोस्रो संस्करणको लिग चरणमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको थियो ।

यसपटक, सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसिंह ऐरी, सेफ जेब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलेन, ईशान पाण्डे, आरिफ शेख, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, अविनाष बोहरा, थारिन्दु रत्नायकेलगायतका खेलाडी छन् ।

यसैगरी, जनकपुर बोल्ट्सको टोलीमा हरमित सिंह, मोइन अली, तृतराज दास, सेफ हसन, अनिल साह, विशाल सुस्लिङ, जेम्स निसम, अभिषेख तिवारी, ललित राजवंशी, राहुल यादव, अमरसिंह रौटेलालगायतका खेलाडी छन् ।

Leave A Reply

Your email address will not be published.