दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ स्थित जोलजिवी मेलामा राति ९ बजेपछि मदिरा बिक्री–वितरण गर्न रोक लगाइएको छ ।
गाउँपालिकाले शनिबार सार्वजनिक अपिल जारी गर्दै मेलामा इजाजत प्राप्त व्यवसायीले मात्रै प्रचलित कानुनबमोजिम बिहान १० बजेदेखि राति ९ बजेसम्म मदिरा बिक्री–वितरण गर्न पाउने जनाएको हो ।
गाउँपालिकाले मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, सवारीसाधन जथाभावी चलाउने तथा उच्छृङ्खल गतिविधि गरी सामाजिक शान्ति र सुरक्षामा खलल पुर्याउने कार्य नगर्नसमेत आग्रह गरेको छ ।
परम्परागत लोकसंस्कृतिको मर्यादा कायम राख्दै सभ्य, सुरक्षित र सद्भावपूर्ण वातावरणमा मेला सम्पन्न गर्न गाउँपालिकाले स्थानीयवासी, व्यवसायी तथा मेलामा सहभागी हुने सम्पूर्णलाई हार्दिक अपिल गरेको छ ।
हरेक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक महत्त्वको जोलजिवी मेला यस वर्ष मंसिर १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुँदैछ ।
