दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका ९ जना जटिल मानसिक रोगबाट पीडित नागरिकको काठमाडौंमा उपचार गराउने भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखामार्फत आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअनुसार उनीहरूलाई काठमाडौंस्थित मानसिक अस्पताल पाटनमा लगेर विशेषज्ञ उपचार गराउन लागिएको हो ।
गाउँपालिकाका प्रवक्ता मदनबहादुर चन्दका अनुसार गाउँपालिकाको आर्थिक सहयोगमा बिरामीहरूको उपचार गरिनेछ । उपचारका क्रममा लाग्ने अस्पताल खर्च, औषधी, खाना तथा बसोबासको व्यवस्था गाउँपालिकाले नै व्यहोर्ने उनले जानकारी दिए । व्यक्तिगत प्रयोजनका अन्य खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ ।
बिरामीहरूलाई गाउँपालिकाका प्रवक्ता चन्द आफैँले काठमाडौंस्थित मानसिक अस्पताल पाटनसम्म लैजानेछन् । उपचार अवधिभर गाउँपालिकाको टोली बिरामीहरूसँगै रहने पनि उनले बताए ।
आर्थिक अभाव र कमजोर पहुँचका कारण जटिल मानसिक स्वास्थ्य समस्या भएर पनि उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
यस कार्यक्रमबाट लक्षित वर्गका नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै मानसिक स्वास्थ्य उपचारमा पहुँच विस्तार हुने गाउँपालिकाको अपेक्षा छ ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सामाजिक विकास समिति संयोजक तथा गाउँपालिकाका प्रवक्ता मदनबहादुर चन्द र सिनियर अहेव विक्रम सिंह धामीलाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।