विवादपछि सच्याइयो महाकाली पुलको होर्डिङ बोर्ड

नेपाल-भारत जोड्ने दार्चुलास्थित महाकाली नदीमाथि निर्माणाधीन मोटरेबल पुलको होर्डिङ बोर्डमा राखिएको नेपाली भूभागको ठेगाना सच्याइएको छ ।

दार्चुलाको महाकाली नगरपालिका-८, असिगडास्थित उक्त पुलको बोर्डमा यसअघि नेपालतर्फको ठेगानासमेत भारतीय भूभाग ‘कालीनदी छारछुम’ उल्लेख गरिएको थियो । भारतीय पक्षले कात्तिक २३ गते बोर्ड राख्नेक्रममा नेपालतर्फको ठेगाना पनि भारतीय क्षेत्रको उल्लेख गरेपछि स्थानीयस्तरमा विरोध भएको थियो ।

स्थानीयले सामाजिक सञ्जालमार्फत उक्त त्रुटि सच्याउन माग गर्दै आलोचना गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनसँग समन्वय गरेको थियो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले भारतीय समकक्षी तहसिल धारचुलाका उपजिल्ला अधिकारी (एसडीएम) आशिष जोशीसँग टेलिफोनमार्फत समन्वय गरी बोर्डमा देखिएको त्रुटि सच्याउन आग्रह गरेका थिए ।

प्रशासनको पहलपछि भारतीय पक्षले यसअघि राखिएको बोर्ड हटाएर नेपालतर्फको ठेगाना ‘महाकाली नदी, असिगडा’ उल्लेख गरी शनिबार पुनः बोर्ड राखेको जनाइएको छ ।

भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राले लोक निर्माण विभागमार्फत उक्त पुल निर्माण गरिरहेको छ ।जन आस्था

Leave A Reply

Your email address will not be published.