नेपाल–भारत सीमाक्षेत्रमा सदियौँदेखि लाग्दै आएको ऐतिहासिक, व्यापारिक तथा सांस्कृतिक जोलजीवी मेला सुरु भएको छ । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको जौलजीवीमा लाग्ने मेलाको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्घाटन गरेका छन् ।
भारततर्फ प्रत्येक वर्ष नोभेम्बर १४ देखि सुरु हुने मेला नेपालतर्फ भने मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुने गरेको छ । नेपालको दार्चुलास्थित मालिकार्जुन गाउँपालिका–७, जोलजीवीमा यस वर्ष पनि मङ्सिर १ गतेदेखि मेला लाग्ने गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिएका छन् ।
काली (महाकाली) र गोरी नदीको सङ्गमस्थलमा लाग्ने यो मेला नेपाल र भारतबीचको ऐतिहासिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा परिचित छ । स्थानीय कला संस्कृतिका जानकार प्रकाशचन्द्र मिश्रका अनुसार यस मेलाको इतिहास सयौँ वर्ष पुरानो छ ।
ऐतिहासिक विवरणअनुसार भारततर्फ अस्कोटका तत्कालीन राजा पुष्कर पालले जोलजीवीमा ज्वालेश्वर मन्दिर स्थापना गरी मेलाको सुरुवात गरेका थिए । प्रारम्भिक समयमा नेपाल, भारत र चीनको तिब्बत क्षेत्रका व्यापारीसमेत मेलामा सहभागी हुने गरेका थिए ।
१० देखि १५ दिनसम्म सञ्चालन हुने मेलामा व्यापार, धर्म, संस्कृति र सामाजिक एकताको विशिष्ट सङ्गम देख्न पाइन्छ । हिमालय क्षेत्रको प्राचीन व्यापारिक मेलाका रूपमा परिचित जोलजीवीले नेपाल, भारत र तिब्बतबीचको परम्परागत व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।
मेलाको धार्मिक महत्वसमेत उत्तिकै रहेको छ । मङ्सिर महिनाको वृश्चिक सङ्क्रान्तिका दिन काली र गोरी नदीको सङ्गममा स्नान गरी मेला सुरु गर्ने परम्परा रहिआएको छ ।
मेलामा नेपालतर्फ जुम्ला, हुम्ला र बाजुरालगायत जिल्लाबाट घोडा बिक्रीका लागि व्यापारी आउने गर्छन् । त्यस्तै, भारतको आगरा, मथुरा, बरेली, दिल्ली, मुरादाबाद, काशीपुर र रामनगरलगायत सहरबाट पनि व्यापारीहरू सहभागी हुने गरेका छन् ।
विशेषगरी जुम्ली घोडाको खरिदबिक्री मेलाको प्रमुख आकर्षणमध्ये एक हो । यसका अतिरिक्त स्थानीय किसान तथा व्यापारीले घिउ, मह, निगालोबाट बनेका सामग्री, तिब्बती नुन, ऊन, पस्मिना तथा हिमाली जडीबुटी यार्चागुम्बा र कट्कीको समेत व्यापार गर्ने गरेका छन् ।
सीमान्त क्षेत्रको व्यापारिक गतिविधि विस्तार गर्नुका साथै दुई देशबीचको ऐतिहासिक सम्बन्ध, मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न जोलजीवी मेलाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।