नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार तेस्रो सिजनको पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरमा दुई चिरपरिचित प्रतिद्वन्द्वी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आपमा भिड्दैछन् ।
सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेबाट शुरू हुनेछ ।
यो खेलमा विजयी हुने टोलीले सिधै प्रतियोगिताको फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोली पनि उपाधि होडबाट भने बाहिरने छैन ।
पराजित हुने टोलीले अगाडि बढ्ने अर्को एउटा अवसर पाउनेछ । पराजित हुने टोलीले एलिमिनेटर चरणको खेलमा विजयी हुने टोलीसँग फाइनलमा पुग्नका लागि भिडन्त गर्नेछ ।
लुम्बिनी लायन्स एनपीएलको साविक विजेता हो भने सुदूरपश्चिम रोयल्स अघिल्ला दुवै संस्करणको उपविजेता । लुम्बिनी र सुदूरपश्चिम दुवैले तेस्रो संस्करणमा पनि अब्बल प्रदर्शन गर्दै आएका छन् ।
यसपटक, लुम्बिनी लायन्स ११ अंकसहित लिग तालिकाको पहिलो स्थानमा छ । लुम्बिनीले सातमध्ये पाँच खेलमा जित र केवल एक खेलमा हारको नतिजा निकाल्यो ।
लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो । उक्त खेलबाट दुवै टोलीले एक–एक अंक हात पारेका थिए ।
अर्कोतिर, सुदूरपश्चिम रोयल्स १० अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रह्यो । सुदूरपश्चिमले सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकाल्यो ।
यसअघि, एनपीएलको अघिल्ला दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सले १२ अंकसहित तालिकाको पहिलो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको थियो ।
यसपटक भने सुदूरपश्चिम रोयल्सको खेलमा एकरुपता देखिएको छैन । खासगरी, सुदूरपश्चिमको ब्याटिङमा सुधार आवश्यक देखिन्छ ।
आफ्ना पुरानै खेलाडीहरूमाथि विश्वास गरेर तेस्रो संस्करणमा होमिएको लुम्बिनी लायन्सको भने ब्याटिङ र बलिङ दुवै निकै सन्तुलित देखिएको छ ।
लुम्बिनी लायन्सले तेस्रो संस्करणको शुरूआत पनि जितबाटै गरेको थियो । आफ्नो पहिलो खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हरायो ।
लुम्बिनी र चितवन राइनोजबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो । लुम्बिनीले आफ्नो तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले हराएको थियो ।
लुम्बिनी लायन्सले आफ्नो चौथो खेलमा भने पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्समाथि १६ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
तर, साविक विजेता लुम्बिनी लायन्सको टोली आफ्नो पाँचौँ खेलमा काठमान्डु गोर्खाजसँग ३६ रनले पराजित हुन पुगेको थियो । जारी सिजनको एनपीएलमा लुम्बिनीको यो नै पहिलो हार थियो ।
आफ्नो छैटौँ खेलमा कर्णाली याक्समाथि चार विकेटको जित हासिल गरेको लुम्बिनी लायन्सले सातौँ खेलमा विराटनगर किङ्सलाई पनि चार विकेटले नै स्तब्ध: पारेको थियो ।
अर्कोतिर, सुदूरपश्चिम रोयल्सले हारबाट तेस्रो संस्करणको शुरूआत गरेको थियो । पहिलो खेलमा सुदूरपश्चिमको टोली साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको सुदूरपश्चिमको टोली तेस्रो खेलमा भने विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको थियो ।
चौथो खेलमा चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको सुदूरपश्चिम रोयल्सले पाँचौँ खेलमा कर्णाली याक्सलाई ३९ रनले हराएको थियो ।
सुदूरपश्चिमले आफ्नो छैटौँ खेलमा पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सलाई २७ रन र सातौँ खेलमा काठमान्डु गोर्खाजलाई सात रनले पराजित गरेको थियो ।
जारी सिजनमा यी दुवै टोलीले ठूलो स्कोर भने बनाउन सकेका छैनन् । पोखरा, कर्णाली, विराटनगर, काडमान्डुजस्ता टोलीले एक सय ८० भन्दा बढी स्कोर बनाउँदा लुम्बिनी र सुदूरपश्चिम भने एक सय ७० रनको हाराहारीमात्र पुग्न सकेका छन् ।
जारी सिजनको एनपीएलमा सुदूरपश्चिम रोयल्सले बनाएको उच्च स्कोर ६ विकेट गुमाएर एक सय ७६ रन हो । सुदूरपश्चिमले कर्णाली याक्सविरुद्धको खेलमा यो स्कोर बनाएको थियो ।
लुम्बिनी लायन्सले बनाएको उच्च स्कोर भने १९.५ ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन हो । विराटनगर किङ्सले दिएको लक्ष्य पूरा गर्नेक्रममा लुम्बिनीले यो स्कोर बनाएको थियो ।
सुदूरपश्चिम रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान दीपेन्द्रसिंह ऐरी हुन् । उनले सात खेलमा दुई अर्धशतकको मद्दतले कुल एक सय ५० रन बनाएका छन् ।
लुम्बिनी लायन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने डार्शी सर्ट हुन् । उनले हालसम्म ६ खेलमा कुल एक सय ४८ रन बनाएका छन् ।
यसैगरी, सुदूरपश्चिम रोयल्सका लागि सर्वाधिक विकेट लिने बलर अनिल खरेल हुन् । उनले सात खेलको ६ पालीमा कुल १० विकेट लिएका छन् ।
लुम्बिनी लायन्सका लागि सर्वाधिक विकेट लिने बलर भने शेर मल्ल हुन् । उनले हालसम्म ६ खेलमा नौ विकेट लिइसकेका छन् । लुम्बिनी र सुदूरपश्चिमलाई एक–अर्काको कट्टर प्रतिद्वन्द्वी मानिन्छ ।
यी दुई टोलीबीचको रोमाञ्चक भिडन्तले समर्थकहरूलाई सधैं भरपूर मनोरञ्जन दिने गरेको छ । तर, महत्त्वपूर्ण भिडन्तहरूमा सुदूरपश्चिममाथि लुम्बिनी हाबी हुँदै आएको देखिन्छ ।
एनपीएलको इतिहासमा हालसम्म यी दुई टोलीबीच हालसम्म चार पटक भिडन्त भएको छ । त्यसमध्ये दुई खेलमा सुदूरपश्चिम र दुई खेलमा लुम्बिनी विजयी भएका छन् ।
सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ।
सन् २०२५ मा आयोजित दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीमाथि सात विकेटको जित हासिल गरेको थियो ।
सोही संस्करणको फाइनलमा पनि यी दुई टोलीबचि भिडन्त भएको थियो । तर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले स्तब्ध: पार्दै उपाधि चुमेको थियो ।
त्यसपछि, सन् २०२६ मा जारी तेस्रो संस्करणको लिग चरणमा पनि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि सात विकेटको जित हासिल गरेको थियो ।
यी दुई टोलीबीचको भिडन्तमा एउटा रमाइलो संयोग पनि देखिन्छ । पहिले ब्याटिङ गर्ने टोलीले एक सयभन्दा बढी रन बनाएको खेलमा सुदूरपश्चिमले बाजी मार्दै आएको छ ।
पहिले ब्याटिङ गर्ने टोलीले एक सयभन्दा कम रन बनाएको खेलमा भने लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै आएको देखिन्छ ।
यी दुई टोलीबीचको पछिल्ला भिडन्तमा लुम्बिनी हाबी हुँदै आएको छ । दोस्रो संस्करणको फाइनलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा केवल ८५ रन बनाउँदै अलआउट भएको थियो ।
झिनो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले भने नौ ओभरमै केवल चार विकेट गुमाएर जित हासिल गरेको थियो ।
सुदूरपश्चिमले ठिक त्यस्तै नियति तेस्रो संस्करणको उद्घाटन खेलमा पनि ब्यहोर्यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमै अलआउट हुनुअघि ८७ रनमात्र बनाउन सकेको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले भने ९.५ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।
त्यसैले मंगलबार हुने लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्ससँग आफ्नो ब्याटिङमा ब्यापक सुधार ल्याउनुको विकल्प हुनेछैन ।
अर्कोतिर, पछिल्ला दुई भिडन्तमा सुदूरपश्चिमका ब्याट्सम्यानका लागि लुम्बिनीका बलर शेर मल्ल निकै धातक बनेको देखिन्छ ।
शेर मल्लले सन् २०२५ को फाइनल खेल र सन् २०२६ को उद्घाटन खेलमा सुदूरपश्चि रोयल्सको तीन–तीन विकेट लिएका थिए ।
लुम्बिनीका कप्तान रोहित पौडेल, रुवेन ट्रम्पलम्यान र किशोर महतोको बलिङ पनि सुदूरपश्चिमका ब्याट्सम्यानका लागि चुनौतिपूर्ण बन्ने गरेको देखिन्छ ।
यसपटक, लुम्बिनी लायन्सको टोलीमा रोहित पौडेल, डार्शी सर्ट, आसिफ शेख, निरोसन डिकवेल्ला, दिलिप नाथ, समिम होसैन, रुवेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, किशोर महतो, तिलक भण्डारी, तिलक भण्डारीलगायतका खेलाडी छन् ।
यसैगरी, सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसिंह ऐरी, सेफ जेब, विनोद भण्डारी, जर्ज मुन्से, ब्रान्डन म्याकमुलेन, ईशान पाण्डे, आरिफ शेख, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, अविनाष बोहरा, दीपक बोहरा, थारिन्दु रत्नायके, फाबियन एलनलगायतका खेलाडी छन् ।