दार्चुला । दार्चुलामा हालसम्म ३ हजार २ सय ८७ उद्योग दर्ता भएका छन्। ती उद्योगमा २० करोड ५२ लाख ४९ हजार २ सय रुपैयाँ पुँजी लगानी रहेको छ भने ५ हजार ८ सय ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
१२औँ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्कले जिल्लाको औद्योगिक अवस्था देखाएको हो। कार्यक्रममा कार्यालय प्रमुख रमेश ओखेडाले जिल्लाको औद्योगिक अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै उक्त विवरण सार्वजनिक गरेका हुन्।
कार्यपत्रअनुसार जिल्लामा कृषि तथा वनजन्य, सेवामूलक र उत्पादनमूलक गरी तीन प्रकारका उद्योग सञ्चालनमा छन्। जसअनुसार कृषि तथा वनजन्य उद्योग १ हजार ६ सय ३९, सेवामूलक उद्योग १ हजार ३ सय ३८ र उत्पादनमूलक उद्योग ३ सय १० वटा दर्ता भएका छन्।
पुँजी लगानीका हिसाबले कृषि तथा वनजन्य उद्योगमा सबैभन्दा बढी १२ करोड ५४ लाख ९२ हजार २ सय रुपैयाँ लगानी रहेको छ। त्यस्तै, सेवामूलक उद्योगमा ६ करोड ६९ लाख ९६ हजार रुपैयाँ र उत्पादनमूलक उद्योगमा १ करोड २७ लाख ६१ हजार रुपैयाँ लगानी रहेको कार्यपत्रमा उल्लेख छ।
रोजगारी सिर्जनामा पनि कृषि तथा वनजन्य उद्योगको योगदान बढी देखिएको छ। यस क्षेत्रका उद्योगले ३ हजार ८ सय ९१ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। त्यस्तै, सेवामूलक उद्योगले १ हजार २ सय ९२ र उत्पादनमूलक उद्योगले ६ सय ६४ जनालाई रोजगारी प्रदान गरेका छन्।
यसैगरी, जिल्लामा २ हजार ५ सय १६ व्यापारिक फर्म दर्ता भई सञ्चालनमा रहेका छन्। सदरमुकाम खलङ्गासहित गोकुलेश्वर, मालिकार्जुन, दुहुँ, व्याँस, नौगाड, मार्मा, अपिहिमाल र लेकम क्षेत्रका विभिन्न बजारमा खुद्रा, थोक तथा सेवामूलक व्यवसाय सञ्चालनमा रहेको कार्यपत्रमा उल्लेख गरिएको छ।
जिल्लामा दर्ता भएका उद्योग तथा व्यापारिक फर्मको तथ्याङ्कले स्थानीय स्तरमा उद्यमशीलता र व्यवसायिक गतिविधि विस्तार हुँदै गएको देखाए पनि उद्योगको दिगोपन, लगानी विस्तार र थप रोजगारी सिर्जनाका लागि औद्योगिक क्षेत्रको विकासमा जोड दिनुपर्ने देखिन्छ।