दार्चुला । दार्चुलाका नौवटै स्थानीय तहमा चालु आर्थिक वर्षमा ६६ करोड ९४ लाख रुपैयाँका पूर्वाधार योजनाको ठेक्का लाग्ने भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास कार्यालय तथा भवन निर्माण आयोजना बैतडीमार्फत जिल्लामा उक्त रकमका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रिया अघि बढाइने भएको हो।
योजनाअन्तर्गत महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा सघन शहरी विकास कार्यक्रम तथा सडक स्तरोन्नति, मर्मत र सडक सुरक्षासम्बन्धी योजना सञ्चालन गरिनेछन्।
महाकाली नगरपालिकामा सघन शहरी विकास कार्यक्रमका लागि १६ करोड ५२ लाख रुपैयाँ र सडक स्तरोन्नति, मर्मत तथा सडक सुरक्षाका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकामा कुल २४ करोड ५२ लाख रुपैयाँका योजना कार्यान्वयन हुनेछन्।
त्यस्तै, शैल्यशिखर नगरपालिकामा सघन शहरी विकास कार्यक्रमका लागि १५ करोड २४ लाख रुपैयाँ र सडक स्तरोन्नति, मर्मत तथा सडक सुरक्षाका लागि ८ करोड रुपैयाँ छुट्याइएको छ। यस नगरपालिकामा कुल २३ करोड २४ लाख रुपैयाँका योजना सञ्चालन हुनेछन्।
यसैगरी, सडक स्तरोन्नति, मर्मत तथा सडक सुरक्षाका लागि जिल्लाका सात गाउँपालिकामा १९ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ। जसअनुसार अपिहिमाल, दुहुँ, ब्याँस र लेकम गाउँपालिकामा प्रतिपालिका २ करोड ६७ लाख रुपैयाँका दरले बजेट छुट्याइएको छ।
मालिकार्जुन गाउँपालिकामा ३ करोड ५० लाख रुपैयाँ तथा नौगाड र मार्मा गाउँपालिकामा प्रतिपालिका २ करोड ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ।
नगरपालिका र गाउँपालिकामा सञ्चालन हुने यी योजनाले जिल्लाको सहरी पूर्वाधार विकास, सडक सञ्जालको स्तरोन्नति तथा सडक सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
समग्रमा चालु आर्थिक वर्षमा दार्चुलाका नौवटै स्थानीय तहमा ६६ करोड ९४ लाख रुपैयाँ बराबरका पूर्वाधार योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रिया अघि बढाइने भएको छ।