दार्चुलाका चार स्थानीय तहमा साझेदार संस्थामार्फत विकास तथा जीविकोपार्जनका कार्यक्रम सञ्चालन

दार्चुला । दार्चुलाका चार स्थानीय तहमा विभिन्न साझेदार संस्थाको सहकार्यमा शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् ।

दुहुँ, मालिकार्जुन र महाकाली नगरपालिका तथा अपिहिमाल गाउँपालिकामा फरक–फरक साझेदार संस्था र परियोजनामार्फत कार्यक्रम सञ्चालन गरिएको हो ।

दुहुँ गाउँपालिकामा गुड नेवर्स इन्टरनेसनल नेपालको एकीकृत सामुदायिक विकास परियोजना (आईसीडीपी) र अवसर (अवसर) कार्यक्रम सञ्चालनमा छन् । यी कार्यक्रममार्फत गाउँपालिकाका ५ वटा वडा, १८ वटा विद्यालय र ५ वटा स्वास्थ्य संस्थामा पहुँच विस्तार गरिएको छ ।

त्यसैगरी, मालिकार्जुन गाउँपालिकामा पनि गुड नेवर्स इन्टरनेसनल नेपालको आईसीडीपी रअवसर परियोजना सञ्चालन भइरहेका छन् । कार्यक्रमले पालिकाका ८ वटा वडा, ३० वटा विद्यालय, ४ वटा सहकारी संस्था र ८ वटा स्वास्थ्य संस्थालाई समेटेको छ ।

महाकाली नगरपालिकामा गुड नेवर्स इन्टरनेसनल नेपालको एकीकृत सामुदायिक विकास परियोजना (आईसीडीपी) सञ्चालनमा रहेको छ । उक्त परियोजनाले वडा नम्बर ९ (दत्तु) का २ वटा विद्यालय, १ वटा स्वास्थ्य संस्था र १ वटा सहकारी संस्थालाई समेटेको छ ।

यस्तै, अपिहिमाल गाउँपालिकामा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा दिगो पर्यटन परियोजना (एसटीपी) सञ्चालन भइरहेको छ ।

परियोजनाअन्तर्गत बेकरी, बारिस्ता तथा हस्तकलासम्बन्धी तालिम, अपि कोसेली घर, होर्डिङ बोर्ड निर्माण तथा वातावरणमैत्री सचेतनामार्फत समुदायमा आधारित पर्यटन र जीविकोपार्जन प्रवद्र्धनका कार्यक्रम अघि बढाइएको छ ।

यी साझेदारी तथा परियोजनाले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सीप अभिवृद्धि र आर्थिक अवसर विस्तारमा योगदान पुर्‍याउने लक्ष्य राखेका छन् ।

यो समाचार पनि पढ्नुस्

सीआरडीएस नेपालको ३३औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न

Leave A Reply

Your email address will not be published.