कञ्चनपुर ।
सीमावर्ती क्षेत्रका किसानले उत्पादन गरेको दूधले बजार नपाएर भारतीय बजारमा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यसहित ग्लोबल डेरीले सुदूरपश्चिममा दुग्ध संकलन तथा चिस्यान केन्द्र विस्तार गरेको छ ।

लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित इमलियामा केन्द्रीय उद्योग सञ्चालन गर्दै आएको ग्लोबल डेरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा दूध संकलन केन्द्र विस्तार गरेको हो । डेरीले कैलालीका तीन र कञ्चनपुरका दुई स्थानमा गरी पाँचवटा नयाँ संकलन केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।
ग्लोबल डेरीका प्रबन्ध निर्देशक जनक न्यौपानेका अनुसार कैलालीको टीकापुर, पहलवानपुर र गुलरा तथा कञ्चनपुरको पुनर्वास र महेन्द्रनगरमा दूध संकलन केन्द्र सञ्चालन गरिएको छ । पुनर्वास नगरपालिका–१ स्थित हुलाकी राजमार्गको ढक्का र भीमदत्त नगरपालिका–५ स्थित ऐठपुरमा चिस्यान केन्द्र स्थापना गरिएको उनले जानकारी दिए ।
न्यौपानेका अनुसार सीमावर्ती क्षेत्रका किसानले उत्पादन गरेको दूधले स्थानीय बजार नपाउँदा भारतीय बजारमा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ । उक्त समस्या समाधान गर्दै किसानको दूध सहज रूपमा खरिद गर्ने उद्देश्यले संकलन केन्द्र विस्तार गरिएको उनले बताए ।
‘सीमावर्ती दुवै जिल्लाका किसानले उत्पादन गरेको दूध बजार नपाएर भारतीय बजारमा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अब किसानले उत्पादन गरेको दूध हामीले सहज रूपमा खरिद गर्छौँ ।’
वि.सं. २०७० देखि कपिलवस्तुमा दुग्ध उद्योग सञ्चालन गर्दै आएको ग्लोबल डेरीले पछिल्ला वर्षमा पश्चिम नेपालसम्म आफ्नो संकलन सञ्जाल विस्तार गरेको छ । हाल कम्पनीले विभिन्न स्थानमा ९४ वटा दूध संकलन केन्द्र सञ्चालन गरिरहेको जनाएको छ ।
प्रबन्ध निर्देशक न्यौपानेका अनुसार प्रत्येक चिस्यान केन्द्रमा पाँच हजार चार सय लिटर दूध भण्डारण गर्ने क्षमता रहनेछ । संकलित दूध चिस्यान केन्द्रबाट सिधै कपिलवस्तुस्थित केन्द्रीय उद्योगमा पठाइनेछ । सुदूरपश्चिममा हाल २५ देखि ३० हजार लिटर क्षमताका चिस्यान केन्द्र विस्तार गरिएको र मागअनुसार डडेल्धुरा, डोटी लगायतका पहाडी जिल्लामा समेत संकलन केन्द्र विस्तार गर्ने योजना रहेको उनले बताए ।
किसानबाट सरकारले निर्धारण गरेको मूल्यअनुसार दूध खरिद गरिने र प्रत्येक १५ दिनमा भुक्तानी गरिने कम्पनीको भनाइ छ । दूधको गुणस्तर परीक्षणका लागि मिल्क एनालाइजर मेसिन प्रयोग गरिनेछ । यसका लागि सहकारी, दुग्ध व्यवसायी र किसानसँग समन्वय तथा सहकार्य गरिने न्यौपानेले बताए ।
कम्पनीले कपिलवस्तुमा दैनिक अढाई लाख लिटर दूध खपत गर्ने क्षमताको दूध पाउडर कारखाना सञ्चालन गर्ने तयारीसमेत गरिरहेको जनाएको छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ संकलन गर्न पशुपालनको सम्भावना भएका जिल्लामा संकलन सञ्जाल विस्तार भइरहेको उनको भनाइ छ ।
यसैगरी, दूध संकलनसँगै प्रशोधन र बिक्री वितरणलाई समेत विस्तार गर्ने कम्पनीको योजना छ । यसअघि कपिलवस्तु, काठमाडौं, पोखरा, भैरहवा र नेपालगञ्जमा बिक्री केन्द्र सञ्चालन गर्दै आएको ग्लोबल डेरीले अब धनगढीमा समेत बिक्री केन्द्र विस्तार गर्ने तयारी गरेको छ ।
ग्लोबल डेरीका संकलन केन्द्र विस्तार भएपछि कैलाली र कञ्चनपुरका दुग्ध उत्पादक किसानलाई दूध बिक्री गर्न सहज हुने अपेक्षा गरिएको छ । खप्तड सहकारीका अध्यक्ष तथा दुग्ध उत्पादक किसान पूर्णसिंह साउदले कम्पनीको उद्योग र दूध पाउडर उत्पादन कारखानाको स्थलगत अनुगमन गरेपछि सहकारीमार्फत दूध बिक्री गर्ने प्रक्रिया अघि बढाएको बताए ।
‘हामीले कपिलवस्तुमै पुगेर डेरी र दूध पाउडर बनाउने कारखानाको स्थलगत अनुगमन गरेर फर्किएका छौँ,’ उनले भने, ‘किसानबाट हाम्रो सहकारीमा संकलन भएको दूध अब ग्लोबल डेरीमार्फत बिक्री वितरण गर्छौँ ।’ विशेषगरी हिउँदमा दूधको खपत कम हुने समस्याबाट किसानले राहत पाउने उनको विश्वास छ ।
त्यस्तै, दोधारास्थित सृजना सहकारी संस्थाका दूध संकलन संयोजक गोविन्द भट्टले संकलन केन्द्र विस्तारसँगै सीमावर्ती क्षेत्रका किसानलाई ठूलो सुविधा पुग्ने बताए । यसअघि स्थानीय बजारमा दूध खपत नहुँदा भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले अब स्वदेशमै दूध बिक्री गर्ने अवसर बढेको बताए ।
कञ्चनपुरका अगुवा धनानन्द लेखकले जिल्लामा दुग्ध संकलन तथा चिस्यान केन्द्र विस्तार हुनु पशुपालक किसानका लागि सकारात्मक कदम भएको बताए । किसानले उत्पादन गरेको दूधको उचित मूल्य र बजार सुनिश्चित भए व्यावसायिक पशुपालनप्रति आकर्षण बढ्ने उनको भनाइ छ ।
त्यस्तै, महिला अगुवा सरस्वती रावलले पनि दूधको सहज बजारीकरणले किसानलाई प्रत्यक्ष लाभ पुग्ने बताइन् । जिल्लामा ठूलो परिमाणमा दूध भण्डारण गर्न सक्ने चिस्यान केन्द्र सञ्चालनमा आउँदा पशुपालक किसानले उत्पादनको न्यायोचित मूल्य पाउने र दुग्ध व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।