‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ दार्चुलाका ३ कृषकलाई

दार्चुला । दार्चुलाका ३ जना कृषकलाई पुरस्कृत गरिएको छ । भूमि व्यवस्था तथा कृषि ज्ञान केन्द्रमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरिएको हो ।

कृषि खेतीमा उत्कृष्ट कार्य गरेको भन्दै मार्मा गाउँपालिका वडा नम्बर ४ का बबिन्द्र धामी, बाख्रा फर्ममा उत्कृष्ट कार्य गरेको भन्दै लेकम गाउँपालिका वडा नम्बर ५ का सम्झना धमला बोहरा तथा पशुपालनमा उत्कृष्ट कार्य गरेको भन्दै महाकाली नगरपालिका वडा नम्बर ५ का नबराज जोशीलाई नगद पुरस्कारसहित पुरुस्कृत गरिएको हो ।

उनीहरुलाई प्रमाणपत्र सहित जनही २५ हजार नगद पुरस्कारले सम्मान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनुभयो । प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रमअनुसार नै यसपटक यहाँका ३ जना किसान छनौट भएका हुन् ।

उहाँले भन्नुभयो ‘पहिलो चरणमा हामीले जिल्लाका ३ जना किसानलाई पुरस्कृत गरेका छौँ ।’ त्यसपछि क्रमशः नौवटै जिल्लामा पुगेर त्यहाँका उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

प्रत्येक जिल्लाबाट ३ ÷३ जनागरी २७ जनालाई पुरस्कृत गरिने बताइएको छ । कृषि ज्ञानेकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तको अध्यक्षतामा भएको कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाका कार्यालय प्रमुख रामबहादुर खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.