दार्चुला – आज विभिन्न कार्यक्रमसहित देशभर ‘राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
‘मेरो शान, मेरो पहिचान’ राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित टोपी दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए ।
नेपालमा मात्रै नभइ विदेशका रहेका धेरै नेपालीहरुले समेत परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका छन् । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।
यद्यपी, नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।