दिपक साउँद/दार्चुला – दार्चुलाको मालीकार्जुन गाउँपालीकाका बालविकास शिक्षकले नेपाल सरकारले तोके अनुसारको तलाब पाउने भएका छन ।
गाउँपालीका भित्र रहेका सामुदायिक बिद्यालयमा कार्यरत बालविकास शिक्षक तथा बिद्यालय कर्मचारीहरुले सरकारले तोके अनुसारको तलब गाउँपालीकाले उपलब्ध गराउने भएको गाउँपालीकाका अध्यक्ष नरेन्द्र सिह धामीले मालीकार्जुन खबरलाई जानकारी दिनु भयो । गाउँपालिकाको बुधबार बसेको बैठकले बालविकास शिक्षक र विद्यालय कर्मचारीका लागि सरकारले तोकेको मासिक १५ हजार रुपैयाँ तलब दिने निर्णय गरेको हो ।
सरकारले बालविकास शिक्षकलाई विगतमा मासिक ६ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएकोमा आर्थिक वर्ष २०७८ /०७९ को बजेटमा उक्त पारिश्रमिक वृद्धि गर्दै १५ हजार पुर्याउने घोषणा गरेको थियो । कर्मचारीहरुले अब बढेको तलब पाउने भएका छन । हाल गाउँपालिका भरी ३८ जना बालविकास सहजकर्ता तथा ५८ जना बिद्यालय कर्मचारी गरी ९६ जनारहेका छन ।
गाउँपालिकाको बैठकले मालिकार्जुन गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा कार्यरत कार्यालय सहयोगि बालविकास सहजकर्ताहरुलाई नेपाल सरकारले तोके अनुसारको पारिश्रमिक उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
यसअघि जिल्लाको नौगाड, अपिहिमाल, मार्मा, लेकम तथा महाकाली नगरपालिकाले बढेको तलब दिने निर्णय गरिसकेको छ । बाकी रहेका व्यासँ गाउँपालीका ,दुहुँ गाउँपालीका र शैल्यशिखर नगरपालिकाले बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई बढेको तलब दिने बारे निर्णय गर्न बाकी नै रहेको छ ।