दार्चुला – प्रतिनिधिसभा बैठकमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरुले अतिक्रमित नेपाली भूमिबाट भारतीय सेना हट्नुपर्ने मुद्दा उठाएका छन्। बैठकमा भएको छलफलमा सहभागी हुने क्रममा नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता एमालेका सांसद खगराज अधिकारीले यस्तो मुद्दा उठाएका हुन्।
नीति तथा कार्यक्रममा अतिक्रमित नेपाली भूमिबाट भारतीय सेना हट्नुपर्ने कुरा समावेश नभएको उनले बताए। खास गरी नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबाट भारतीय सेना तत्काल हटाउन पहल गर्नुपर्ने उनको जोड थियो। नीति तथा कार्यक्रमको १३९ नम्बर बुँदामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपूलेकबाट भारतीय सेना तुरुन्त हटाउनुपर्ने ब्यहोरा उल्लेख गर्न अधिकारीले सरकारलाई आग्रह गरे। उनले राष्ट्रिय पूँजी निर्माणमा जोड दिन सरकारलाई आग्रह गरे। हरेक पालिकालाई पूँजी निर्माणको स्रोत बनाउन सकिने पनि उनले उल्लेख गरेका छन्।
त्यसैगरि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि कालापानीमा तैनाथ भारतीय सेना हटाउन सरकारले पहल गर्नुपर्ने बताए। उनले कालापानीमा तैनाथ भारतीय सेना हटाउने तथा दार्चुलामा अतिक्रमण गरी बनाइएको तटबन्ध भत्काउने सम्बन्धी ब्यहोरा नीति तथा कार्यक्रममा राख्न संसदमा सूचना दर्ता गराएका छन्।