दार्चुलामा भूकम्पको सम्भाव्यताबारे अध्ययन

दार्चुला । दार्चुलाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ। तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो।

पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले अध्ययन गरेका हुन्। भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्चुला र बझाङमा बढी जोखिम रहेको हुनसक्ने अनुमानका आधारमा टोलीले यहाँको अवस्थाबारे अध्ययन थालेको हो । पश्चिम नेपालमा ५ सय १७ वर्षयता ठूलो भूकम्प गएको छैन। नेपालका ठूला भूकम्पमध्ये अबको १० वर्षभित्र पश्चिम नेपालमा ठूलो भूकम्प आउनसक्ने भूकम्पविद् प्रोफेसर पेरियरले बताउनुभएको छ । “पश्चिम नेपालमा १० वर्षभित्र ठूलो भूकम्प आउने खतरा छ”, उहाँले भन्नुभयो, “तातोपानी भएको क्षेत्रमा भूकम्प आउने सम्भावना बढी हुने भएकै कारण यहाँको पानीको अवस्थाबारे अध्ययन गर्न आएका हौँ।”

दार्चुलाका श्रीवगडको पानीमा त्यति खतराको अवस्था नरहेको उहाँले बताउनुभयो। पानीको तापक्रम ६४.६ डिग्री देखिएको उहाले जानकारी दिनुभयो। ग्यासको मात्रा सिओ–२ मात्रै छ । उहाँका अनुसार ग्यास बढी भएको भए भूकम्प चाँडो आउने सम्भावना रहन्छ। “यहाँ ग्यासको मात्रा अहिले बढेको छैन्, मेरो अनुभवले जुन तातोपानीमा ग्यासको मात्रा बढी हुन्छ त्यो खतरा हो”, उहाँले भन्नुभयो। नेपालमा लामो समयदेखि भूकम्प आउने क्षेत्रबारे अनुसन्धान गर्दै आएका प्रोफेसर पेरियरकले अहिले नै यो क्षेत्रमा जोखिमको अवस्था धेरै नरहेको बताउनुभयो।

पछिल्लो समय सुदूरपश्चिमका दार्चुला, बझाङ लगायतका केन्द्र भएर साना भूकम्प भने बढी जाने गरेको टेक्निकल असिस्टेन्ट शर्माले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.