दार्चुला । दार्चुलामा सोमबार दुइ जना बालकसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य विद्ले कोरोनाको तेस्रो लहरको खतरा देखाइरहेको बेला जिल्लामा सोमबार दुई जनाबालक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल दार्चुलामा आठ जनाको एन्टिजेन परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।
जिल्ला अस्पताल दार्चुलामा पुगेका अढाई वर्षीय र ४ बर्षीय बालकमा एन्टिजेन पोजेटिभ देखिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्द्रश लिम्बुले बताउनुभयो । जिल्लामा बालकहरुमा कोरोनाको लक्षण देखिएको यो पहिलो केस हो । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दा लक्षण सबै देखिएपछि एन्टिजेन परिक्षण गरिएको थियो। बालबालिकामा रुघाखोकी, ज्वरो, लगायतका कोरोनाका लक्षण देखिएको बताइएको छ।
तेस्रो भेरियन्टले बालबालिकालाई बढि असर गर्ने जनस्वास्थ्य विद्ले भनिरहेको बेला जिल्लामा बालबालिकामा कोरोना संक्रमण देखिएपछि चिन्ताको विषय बनेको छ।
कोरोना बढ्ने लक्षणदेखिएसँगै जिल्ला अस्पतालले १० ब्याडसहितको आइसोलेसन ब्याड तयार गर्न थालेको डाक्टर लिम्बुले बताउनुभयो । अहिले मौसममा आएको परिवर्तनको कारण पनि जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्थाहरुमा विरामीको भीड बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन।