दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका दर्जनौँ गाउँमा खानेपानीको समस्या हुन थालेको छ । सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको हो । यो वर्ष समयमै वर्षा नहुँदा अधिकांश खानेपानीका मुहान सुक्न थालेका छन् । लामो समयसम्म नियमित वर्षा नहुँदा मुहानहरुमा पानीको मात्रा घटेकाले स्थानीयवासी अभाव बेहोर्दै आएका छन् ।

नियमित वर्षा नभएकाले पनि पहाडी क्षेत्रमा खानेपानीको समस्या बर्सेनि बढ्दै गएको छ । शैल्यशिखर नगरपालिका–६ को धौखानी र उदपुरलगायत क्षेत्रमा खानेपानीको निकै समस्या भएको स्थानीयवासी श्याम सिंह धामी बताउनुहुन्छ । उक्त क्षेत्रका करिब ३० घर र सोही ठाउँमा रहेको शैल्य आधारभूत विद्यालयमा पनि खानेपानीको समस्या रहेको अर्का स्थानीयवासी नरेन्द्र धामीको भनाइ छ ।

जिल्लाका नौवटै स्थानीय तहका उच्च भेग र पाखो क्षेत्रका अधिकांश बस्तीमा पानीको समस्या रहेको सोही वडाका वडाध्यक्ष जगदीशसिंह धामी उल्लेख गर्नुहुन्छ ।

त्यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत भगवती, सिराड, हुनैनाथलगायत बस्तीहरूमा पनि खानेपानीको अभाव रहेको पालिकाका उपाध्यक्ष कल्याणसिंह धामीको भनाइ छ । । जिल्लाको धेरैजसो ठाउँमा लिप्टिङ खानेपानीका योजना रहे पनि समयमै मर्मत नहुँदा स्थानीयवासीहरुले खानेपानीको समस्या झेल्नुपरेको छ ।

शैल्यशिखरका केही बस्तीमा खानेपानीका केही मुहान बर्खायाममा बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो । क्षतिग्रस्त मुहानलाई स्थानीय सरकारले अहिलेसम्म मर्मत गर्न कुनै चासो नदेखाएको अर्का स्थानीयवासी गोपाल सिंह धामीको गुनासो छ ।

जिल्लाका अधिकांश ठाउँमा सडकलगायत भौतिक संरचना निर्माणका कामले क्षति पु¥याउँदा मुहानहरु पुरिएर खानेपानीको समस्या भएको छ । जलवायु परिवर्तन, जथाभावी निर्माण कार्य, भू–क्षय, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप, वन विनाशआदिले गर्दा पानीका मुहान नासिदै गएको जानकारहरुको भनाइ छ ।

भौगोलिक विकटता र माथिल्लो भागमा बस्ती तर खोला तल्लो भागबाट बग्ने भएकाले मुहान सुकेपछि खोलाको पानीमा निर्भर हुने अवस्था छैन । लिफ्ट सिस्टमजस्ता प्रविधिको प्रयोग सहज छैन । महगो प्रविधि र त्यसमा फेरी सञ्चालनको झन्झट पनि भएकाले पहाडी बस्तीका लागि स्थानीय मुहान नै एक मात्र सस्तो र सुलभ विकल्प रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटी बताउनुहुन्छ । Rss

Leave A Reply

Your email address will not be published.