प्रतिनिधि सभाको सभामुखमा एमालेका घिमिरे निर्वाचित

दार्चुला । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो ।

मत विभाजनमा घिमिरेको पक्षमा एक सय ६७ मत खसेको छ । उहाँका विपक्षमा एक सय मत खसेको छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयो ।

सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । यस्तै उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्थ्यो ।

सभामुखका लागि नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहनुभएको थियो ।

सभामुखमा निर्वाचित घिमिरे झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

health
Leave A Reply

Your email address will not be published.