नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

दार्चुला । सुदूरपश्चिम प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो ।

नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन् ।

एमाले नेता रावल माओवादी, एमाले, नागरिक उन्मुक्ति र राप्रपाका गरी २९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

Leave A Reply

Your email address will not be published.