‘गठबन्धन टुट्ने–भत्कने कुरै छैन’ प्रधानमन्त्री प्रचण्ड

दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटमा रहेको ओली निवासमा आज शुक्रवार दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो ।

भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफूहरू एकै ठाउँमा रहेको र राष्ट्रपतिका बारेमा एकरदुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन कायमै छ, हामी सहमतिमै छौँ, हामी मिलेरै अगाडि बढ्छौँ, सत्ता साझेदार सरकार चलिरहेको छ, गठबन्धन टुट्ने–भत्कने कुरै छैन । यसलाई अझ कसरी राम्रो बनाउने भनेर लागिरहेका छौँ ।’

एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्री प्रचण्डसँग पाँच वर्ष नै यही गठबन्धनलाई कायम राख्नुपर्ने र राष्ट्रपतिको सन्दर्भमा पुस १० गते भएको गठबन्धनको सहमतिलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेको ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको चुनाव नजिकिँदै गएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिमा सहमति जुटाउनेबारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सबै दलको सहमतिमा चयन गर्ने बताउँदै आउनुभएको छ भने अध्यक्ष ओलीले पुस १० को सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्ने अडान राख्दै आउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.