कार्यसम्पादन सूचक मूल्यांकनमा दार्चुलाको नौगाड गाउँपालिका पहिलो

मालिकार्जुन गाउँपालिका पुछारमा

दार्चुला । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले तयार पारेको कार्यसम्पादन सूचक मूल्यांकनमा दार्चुलाका ९ ओटा स्थानीय तहमध्ये नौगाड गाउँपालिका अग्रस्थानमा देखिएको छ ।

विभिन्न १७ वटा सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा नौगाड गाउँपालिका अग्रस्थानमा देखिएको हो । स्थानीय तहको हकमा समयमा बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ । यस्तै स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको संख्या, चार पटक गर्भजाँच गराएको महिलाको संख्या लगायतलाई पनि सूचकमा राखिएको छ ।

आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

ति मुल्याङ्कनको आधारमा नौगाड गाउँपालिकाले ७२.८ अंक प्राप्त गरेको छ । यो अंक जिल्लाका अन्य स्थानीय तहको तुलनामा सबै भन्दा बढी रहेको छ । संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाभन्दा नौगाड गाउँपालिकाले बढी अंक ल्याएको छ।

जिल्लाका अन्य स्थानीय तहमा दास्रो स्थानमा अपिहिमाल गाउँपालिकाले ६७.०७ अंक ल्याएको छ। त्यस्तै महाकाली नगरपालिकाले ५९.८१, मार्मा गाउँपालिकाले ५३.०२, शैल्यशिखर नगरपालिकाले ४९.८१ अंक प्राप्त गरेका छन । त्यस्तै लेकम गाउँपालिकाले ४९.५८, दुहुँ गाउँपालिकाले ४८.८४,ब्याँस गाउँपालिकाले ४४.७० र मालिकार्जुन गाउँपालिकाले जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा कम ४४.४९ अंक प्राप्त गरेको छ।

मूल्यांकनमा जिल्लाका नगरपालिकाहरुलाई समेत पछि पार्दै नौगाड गाउँपालिका पहिलो भएको छ । नौगाड गाउँपालिका गत विगतका बर्षहरुमा पनि कार्यसम्पादन मूल्यांकनमा अग्रपंक्तिमै देखिएको थियो ।

Leave A Reply

Your email address will not be published.