कञ्चनपुर ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा क्रियाशील अल स्टार युवा क्लबले खेलकुदसँगै सामाजिक सेवाका गतिविधिलाई पनि निरन्तरता दिएको छ। युवालाई संगठित गर्दै समुदायको समस्या समाधानमा योगदान पु¥याउने उद्देश्यले क्लबले विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको हो।
वर्षाका कारण ग्रामीण क्षेत्रका सडकमा खाल्डाखुल्डी परेर आवागमनमा समस्या भएपछि क्लबले बेल्डाँडी गाउँपालिका–१ मा सडक मर्मत तथा सुधारको काम गरेको छ। क्लबले कालिका आधारभूत विद्यालय र कालिका मन्दिर आसपासको मुख्य सडकमा रहेका खाल्डाखुल्डी पुर्दै स्थानीयको आवतजावत सहज बनाएको जनाएको छ।
सडक बिग्रिएपछि पैदलयात्रु तथा सवारीसाधनलाई आवतजावतमा कठिनाइ हुँदै आएको थियो। स्थानीयस्तरको समस्या समाधान गर्न ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने भावनाका साथ क्लबका प्रतिनिधि, सदस्य तथा अग्रजहरूको सहभागितामा सडक सुधार गरिएको हो।
अल स्टार युवा क्लबले बेल्डाँडी–१ मा खेलकुदको विकाससँगै युवाको सामाजिक सहभागिता बढाउने र समुदायप्रति उत्तरदायी बनाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
क्लबका यस्ता अभियानले स्थानीय समस्याको समाधानमा युवाको भूमिका बढाउनुका साथै सामूहिक सहभागिता, सहकार्य र सामाजिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पुगेको स्थानीयको भनाइ छ।
