दार्चुला । दार्चुलामा कोरोना भाइरस विरुद्धको बुस्टर मात्राको खोप लगाइने भएको छ। ५५ बर्ष माथिका बुस्टर खोप नलगाएका तथा १२ बर्ष माथिका दिर्घरोगी, गर्भवति, रोग प्रतिरोधात्मक क्षमता कम भएका र स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको बुस्टर खोप दिइने भएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा आज बसेको कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त भएको कोरोना भाइरस विरुद्धको फाइजर खोप दिने निर्णय गरेको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।
बैठकले ५५ वर्ष माथिका सबै नागरिक, स्वास्थ्यकर्मी, १२ माथिका दिर्घरोग भएका, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई पहिलो बुस्टर डोज दिने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रबाट १३ हजार ९८० डोज फाइजर खोप प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना भाइरस विरुद्धको बुस्टर फाइजर खोप तोकिएको लक्षित समुहका सम्पुर्ण व्यक्तिहरुलाई आउदो चैत्र १० गते देखी १२ गते सम्म अभियानका रुपमा सबै स्थानिय तहका सबै स्वास्थ्य संस्थाबाट दिइने जनाइएको छ । खोप अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न र खोपको कभरेज बढाउनका लागि सरोकारवाला निकायलाई प्रचार–प्रसार तथा आवश्यक सहयोगका लागि अनुरोध गर्ने, जिल्लाका सबै स्थानिय तहहरु मार्फत कोभिड–१९ रोग विरुद्धको खोपको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लिन छुट व्यक्तिहरुको लगत संकलन गरि सो विवरण स्वास्थ्य कार्यालयमा पठाउन अनुरोध गर्ने पनि निर्णय गरिएको छ ।
बैठक प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको हो ।