दार्चुलाको तिङ्कर नाका खोल्न सांसद बडूको माग

दार्चुला । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङगोला लगायतका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवनसमेत प्रभावित भएको भन्दै उहाँले नाका खोल्न कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो । नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘उत्तरी सीमाका नाकाहरू खोल्न छिटो भन्दा छिटो कुटनीतिक पहल होस् । नाका खुल्दा केही अंशमा भए पनि हाम्रो अर्थतन्त्र निर्माणमा यसले योगदान दिन सक्छ । रोजगारी सिर्जनामा पनि नयाँ अवसर सिर्जना हुन सक्छ ।’

सांसद बडूले उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.