दार्चुलामा थप ४ जनामा कोरोना पुष्टि

संक्रमितको सख्या ११ पुग्यो

दार्चुला । दार्चुलामा मंगलबार एकै दिन ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल दार्चुलामा मंगलवार गरिएको परिक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बिरामी भए जिल्ला अस्पताल पुगेका ४ जनामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका मेसु सोमराज अवस्थीले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका ब्याँस गाउँपालिका वडा नम्बर ४ का २४ वर्षीया महिला, महाकाली नगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष, महाकाली नगरपालिका वडा नम्बर ७ की १८ वर्षीया महिला र दुँहु गाउँपालिका वडा नम्बर ५ की २३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो संगै दार्चुलामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ। जिल्ला अस्पताल दार्चुलाका अनुसार पछिल्लो केही दिन यता जिल्लामा कोरोना संक्रमण बढेको छ ।

पछिल्लो पटक चैत २१ गते भारतको चेन्नइ सहरबाट घर फर्केका दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । त्यस यता मात्रै जिल्लामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चैत २४ गते मार्मा गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो । त्यस्तै चैत ३० गते भारतबाट फर्केका नौगाड गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय पुरुष र सोही गाउँपालिकाको वडा नम्बर १ का ४० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा गरिएको परिक्षणमा पनि एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । चैत २९ गते जिल्ला अस्पताल दार्चुलामा महाकाली नगरपालिका वडा नम्बर ९ की २२ वर्षीया महिला र गोकुलेश्वर अस्पतालमा शैल्यशिखर नगरपालिका वडा नम्बर ५ की २० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको थियो । बैशाख १ गते शुक्रवार दुहुँ गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ रहेको छ ।

चैत २४ गते पहिलो पटक कोरोना संक्रमण देखिएको दार्चुलामा त्यस यता ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । लगातार कोरोना संक्रमण बढीरहेकोले स्वाथ्य सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.