चितवन-२ मा कांग्रेसका उम्मेदवार श्रेष्ठद्वारा मतदान, लामिछाने र न्यौपानेले भने भोट हाल्न नपाउने

दार्चुला – चितवन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गर्नु भएको छ । उहाँले बिहान चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गर्नु भएको हो ।

उपचुनावका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गर्न नपाउने हुनुभएको छ । उहाँहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा छैन । लामिछानेको मतदाता नामावली काठमाण्डौमा र एमालेका न्यौपानेको चितवन क्षेत्र नम्बर ३ मा रहेकाले मतदान गर्न नपाउने हुनुभएको हो ।

गएको मंसिर ४ गतेको प्रतिनिधि सभा चुनावमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उहाँको सांसद पद गुमेपछि चितवन २ मा उपचुनाव भएको हो ।

यसैबीच, तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा स्वर्णीम वाग्लेले पनि  मताधिकार प्रयोग गर्न नपाउने हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उहाँको तनहुँ १ को मतदाता नामावलीमा नाम नरहेकाले मतदान गर्न नपाउने हुनु भएको हो ।

नौ जना उम्मेदवार रहेको तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.