कोशीमा नयाँ सरकार गठनको कसरत, मुख्यमन्त्रीमा कांग्रेस र माओवादीसँगै राप्रपाको पनि दाबी

 

कोशी प्रदेशमा नयाँ सरकार गठनको कसरत शुरु भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेपछि दलहरु आआफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी कसरतमा जुटेका हुन् ।
प्रदेश प्रमुख खापुुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्न आउँदो २१ गते बिहीवारसम्मको समय दिनुभएको छ ।
गएको शुक्रवार हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा २ को प्रयोग भइसकेको भन्दै उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुनुपर्ने दाबी गर्दै आएको थियो ।
प्रदेश प्रमुखबाट उपधारा २ अनुसार सरकार गठनको आह्वान भएसँगै एमाले, कांग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् । अहिले विपक्षीमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन बनाएर सरकार गठन गर्ने दाबी गरेका छन् ।
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेश सभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्दा गठबन्धनसँग जम्मा ४६ प्रदेश सभा सदस्य मात्रै हुन्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

प्रदेश सभाको सबभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन् । गठबन्धन दलले राप्रपालाई सहभागी गराएर नयाँ सरकार गठनको गृहकार्य थालेको छ । तर मुख्यमन्त्रीमा कांग्रेस र माओवादीसँगै राप्रपाले पनि दाबी गर्दै आएको छ । केन्द्रबाटै टुङ्गो लगाउन नेताहरुले दौडधुप बढाएका छन् ।
उज्यालो

Leave A Reply

Your email address will not be published.