दार्चुलाको खलङ्गा–दल्लेख सडक अवरुद्ध हुँदा ढुवानीमा समस्या

दार्चुला-

दार्चुलाजिल्लाको खलंगा दल्लेख सडक खण्ड अवरुद्ध हुँदा गाउँमा उत्पादन भएको तरकारी तथा खलंगा बाट गाउँमा खाद्यान्न ढुवानीमा गर्न समस्या भएको छ ।

गएको असार दोस्रो हप्तादेखि पानीपरेको कारण ठाउँठाउँमा पहिरो खस्दा सडक बन्द भएको भए पनि सडक खुलाउने कुनै सुरसार नभएको स्थानीयले गुनासो गरेका छन।

सडक नखुल्दा मुख्य गरी तरकारी किसान मर्कामा परेका छन् । गाउँमा कोही बिरामी परे स्ट्रेचरमै बोकेर ल्याउनुपर्ने हुन्छ । काम विशेषले सदरमुकाम आवतजावत गर्नेलाई पनि समस्या भएको स्थानीयले बताएका छन।

दैनिक उपभोग्य सामाग्रीको ढुवानीसँगै तरकारी ढुवानीमा असहज भएको स्थानीय हरक मन्यालले बताउनुभयो ।

सडक नखुल्दा गाउँमा खाद्यान्नको अभाव हुने चिन्ता बढेको छ । अहिले नौगाड गाउँपालिका–२ दल्लेखका झण्डै ७० घरपरिवारले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।

त्यहाँका पाँच सय भन्दा धेरै किसानहरुको बारीमा तरकारी छ । तरकारी बारीमै कुहिने चिन्ता बढेको किसान धर्म मन्यालले गुनासो गर्नुभयो ।

अहिले खलंगादेखि सेलासम्म सडक पूर्णरुपमा अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै महाकाली नगरपालिकाको काटै, सेला, मैखोली, मुल्ला र नौगाड गाउँपालिका–२ दल्लेखका स्थानीयबासिन्दालाई आवतजावतमा सास्ती भएको छ । दल्लेख क्षेत्रमा उत्पादन भएको तरकारी किसानले बोकेर सदरमुकामसम्म ल्याउनुपर्ने बाध्यता छ ।

नौगाड गाउँपालिका(२ दल्लेखमा अहिले सिम्ला, टमाटर, काक्रो भन्टा, सिमी, रायो, बन्दा काउलीलगायतका तरकारी उत्पादन गरिएको छ ।

उत्पादन गरिएको तरकारी जिल्ला सदरमुकाम खलंगामा बेचेर तरकारी किसानले घरमा नुन, दाल र चामल जोहो गर्दै आएका छन् ।

महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेका अनुसार नगरपालिकाले बाटो खुलाउन प्रयास गरेको भए पनि लगातार बर्षाका कारण अबरुद्ध सडक खोल्न सकिएको छैन ।

Leave A Reply

Your email address will not be published.