साथीलाई कुटपिट गरी सामाजिक सञ्जालमा भिडिओ राख्ने तीन युवती पक्राउ
सुनसरी बराहक्षेत्र वडा नं. ९ टोल राजाबास स्थित चिहान डाँडाको कोशी किनारमा महिलालाई कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने तीन जना युवती पक्राउ परेका छन् । कुटपिट गरेको आरोपमा पाँच जनामाथि जाहेरी परेको थियो । जसमध्ये हालसम्म तीन जना पक्राउ परिसकेका छन् भने दुई जना फरार छन् ।
सुनसरी बराहक्षेत्र वडा नं. १० प्रकाशपुर बस्ने १९ वर्षीय प्रीति लिम्बू घटना भएकै दिन महेन्द्रनगरबाट पक्राउ परेकी थिइन् । पक्राउ गरेपछि उनीमाथि अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ । त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले फरार बाँकी चार जनाको खोजीकार्य सुरु गरेको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमान्डको विशेष प्रहरी टोलीले सुनसरीको इटहरी बजारबाट मंगलबार थप दुई जना आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र वडा नं। ८ बस्ने १८ वर्षीय दुर्गा राई र सोही ठाउँमा बस्ने २२ वर्षीय बिनिता उराँउ रहेका छन् । प्रहरीले उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो ।
जिप्रका सुनसरीका अनुसार असार २९ गते पाँच जना युवतीले सुनसरी बराहक्षेत्रकी १९ वर्षीय मनिषा राईसहित तीन जनालाई झुक्काएर चिहान डाँडाको कोशी किनारमा बोलाएका थिए । त्यसपछि पाँच जनाले तीनै जनालाई पालैपालो कुटपिट गरी भिडिओसमेत बनाएर सामाजिक सञ्जालमा राखे ।
सो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त भिडिओ राखेकोमा पीडितहरूले असार ३१ गते इप्रका महेन्द्रनगरमा जाहेरी दरखास्त दिएका थिए । त्यही विषयमा अनुसन्धान गर्दै जाँदा तीन जना पीडक पक्राउ परेका छन् । फरार रहेका बाँकी २ युवतीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।