दार्चुला : शैल्यशिखर नगरपालिकाको वडा नम्बर ३ लाई खर्च विवरण र हिसाब किताब माग्दा ठाडो खर्च विवरण र फर्जि बिल उपलब्ध गराएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ । स्थानीय एवं गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार लाल बहादुर चन्दले आफूहरुले वडालाई वडाबाट संचालन भएको खर्च विवरणका साथै सक्कली बिल भौचर माग गरेकामा फर्जि बिल र ठाडो विवरण उपलब्ध गराएकोमा प्रशासनलाई निवेदन दिइएको बताए ।
गत आर्थिक वर्ष २०७९÷८० मा वडालाई प्राप्त विकास संचालन खर्च के कति र कँहा खर्च भयो भनी सूचनाको हक अन्तर्गत विवरण माग गर्दा वडाले आफू खुसी विवरण उपलब्ध गराएको चन्दको आरोप छ । वडाले उपलब्ध गराएको त्यो विवरणमा वास्तविकता नदेखिदा पुनः स्पष्ट रुपमा बुद्धागत रुपमा आवश्यक सामान खरिद तथा ढुवानीका साथै बिल भौचर समेत माग गरेको उनले बताए । साथै वडालाई माग गरिएको विवरणका लागि सम्बन्धित वडालाई निर्देशन दिइ आवश्यक छानबिनसहित वडावासीलाई सही र तथ्यपरक विवरण उपलब्धका लागि प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई निवेदन पेश गरिएको छ ।