बाह्य पर्यटकको रोजाइँबाट टाढिँदै ‘कञ्चनपुर’

दार्चुला :-
सुदूरपश्चिम प्रदेशमै अथाह पर्यटकीय क्षेत्र रहेको कञ्चनपुरमा विगत केही वर्षयता बाह्य पर्यटकको आगमन घट्दै गएको छ ।

विश्वमै दुर्लभ बाह्रसिङ्गा पाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय क्षेत्र वेदकोट ताल, झिलमिला ताल, लिङ्गेश्वर, एशियाकै लागि दोधारा चाँदनी झोलुङ्गे पुल, विभिन्न झरना, भाइरल रोड र चारवटा पाहुना घर भएको कञ्चनपुरमा तथ्याङ्क हेर्दा बाह्य पर्यटक न्यून सङ्ख्यामा भित्रिएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले गत आर्थिक वर्षमा सार्क मुलुकका एक सय ५८ र बाह्य मुलुकका एक सय २१ जना विदेशी पर्यटकले शुक्लाफाँटाको अवलोकन भ्रमण गरेको जानकारी दिनुभयो ।

गत आवमा शुक्लाफाँटामा कूल तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेको प्रमुख संरक्षण अधिकृत मेहताको भनाइ छ । शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ ९३६० भएको क्षेत्र हो भने यहाँ १७ वटा गँैडा, हात्ती र विभिन्न साढे चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी र वन्यजन्तुको वासस्थान हो ।

आन्तरिक पर्यटकको आवागमन बढ्दै गए पनि शुक्लाफाँटामा बाह्य पर्यटक नआउनुमा प्रचारप्रसारको समेत कमी रहेको देखिन्छ । भीमदत्त नगरपालिका कार्यालयले शुक्लाफाँटाको प्रचारप्रसारका लागि हरेक वर्ष पर्यटन महोत्सव आयोजना गर्दै आएको भए पनि बाह्य पर्यटकसम्म त्यो पुग्न सकेको छैन ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ५५ वर्गकिलोमिटरको विशाल घाँसेमैदान छ । जहाँ हजारको सङ्ख्यामा बाह्रसिङ्गा चरिचरण गरिरहेको सहजै देख्नसमेत सकिन्छ । शुक्लाफाँटामा बाह्य मुलुकबाट आउने पर्यटक अवलोकन भ्रमणसँगै विभिन्न वन्यजन्तुको अध्ययनका लागि आउने गरेका छन् ।

उता कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिने बाह्य पर्यटकको सङ्ख्या पनि न्यून नै छ । अध्यागमन कार्यालय गड्डाचौकीले दिएको जानकारीअनुसार गत आवमा यहाँबाट तेस्रो मुलुकका आठ सय ९१पर्यटक भित्रिएका छन् । अध्यागमन अधिकृत पदमराज भट्टले यहाँबाट भित्रिने पर्यटकको रोजाइमा शुक्लाफाँटा एक प्रतिशत पनि नपर्ने गरेको बताउनुभयो ।

“मुख्य कुरो शुक्लाफाँटालगायत यहाँका पर्यटकीय क्षेत्रबाट हामीले यहाँबाट भित्रिने पर्यटकलाई जानकारी नै दिन सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “यहाँबाट भित्रिने पर्यटकको रोजाइँ बर्दिया, पोखरा र काठमाडौँलगायतका क्षेत्र पर्छ ।” गड्डाचौकी नाकाबाट करिब दश किलोमिटरको दूरीमा रहेको शुक्लाफाँटा निकुञ्ज र त्यहाँ हेर्न पाइने वन्यजन्तुबारे पर्यटकसम्म प्रचारप्रसार पुग्न नसक्नु नै मुख्य चुनौती हो ।

अध्यागमन कार्यालयका अनुसार अघिल्लो आवमा यहाँबाट एक सय ९८ जना मात्रै तेस्रो मुलुकका पर्यटक यहाँबाट भित्रिएका थिए । नेपाल–भारतका धार्मिक तथा अन्य पर्यटकीय क्षेत्र दूरीका हिसाबले नजिकै भए पनि पर्यटनलाई बढावा दिने खालका समन्वय अभाव देखिएको छ ।

त्यसैगरी कोरोना कहरपछि गड्डाचौकीबाट भारत जान बाह्य पर्यटकलाई रोक लगाइएको छ । कोरोना कालपछि यहाँबाट पर्यटकलाई भारत पस्न दिन अनुमतिका लागि पहल गरिए पनि कुनै सुनुवाइ नभएको अध्यागमन कार्यालयको भनाइ छ । भारतको चम्पातका पूर्णागिरि माँताको मन्दिर दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवमा सिद्ध वैजनाथ मन्दिरको दर्शनका लागि भने धार्मिक पर्यटक वार्षिक लाखको हाराहारीमा आउँछन् ।

त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले पर्यटक आउने वातावरण र चाहिने सेवा सुविधामा ध्यान नपुगेको बताउनुभयो । “पर्यटक आए पनि बस्नका लागि स्तरीय होटल, रिसोर्ट यहाँ उपलब्ध नहुने स्थिति छ”, उहाँले भन्नुभयो, “पर्यटक भित्र्याउन निजी क्षेत्रको पनि ध्यान जानुका साथै प्याकेज ल्याउनु आवश्यक छ ।”

उहाँले पर्यटक रमाउने खालका धेरै सम्भावनायुक्त क्षेत्र भए पनि प्रचारप्रसार र संरक्षण र सम्वद्र्धनमा समेत जोड दिनुपर्ने बताउनुभयो । “कञ्चनपुर धार्मिक पर्यटकको अझ बढी सम्भावना बोकेको क्षेत्र हो ।” मल्लले भन्नुभयो, “उता भारतमा पनि यहाँबाट धेरै धार्मिक पर्यटनका क्षेत्र दूरीका हिसाबले नजिक पर्छन् ।” उहाँले बाह्य पर्यटक भित्र्याउनु साथै उनीहरुलाई पर्यटनमैत्री वातावरण तयार गर्न स्थानीय र प्रदेश सरकारको पनि भूमिका चाहिने बताउनुभयो ।

“भारतको राजधानी नयाँ दिल्ली यहाँबाट सात÷आठ घण्टाको यात्रामा पुगिन्छ”, उहाँले भन्नुभयो, “त्यहाँका पर्यटकलाई शुक्लाफाँटाको विशेषताबारे बुझाउन चुकिरहेका छौँ ।”

त्यसैगरी भीमदत्त नगरपालिका–१४ मा रहेको राना थारु सामुदायिक होमस्टेमा पनि बाह्यभन्दा स्वदेशी पर्यटक बढी आउँछन् । होमस्टेका सचिव चेतराम रानाले शुक्लाफाँटा भ्रमणका लागि आउने र विभिन्न दातृ निकायको कार्यक्रममा आउने पाहुना बास बस्न होमस्टे आउने गरेको बताउनुभयो ।

आठ वर्षअघि स्थापना भएको होमस्टेमा १५ हजार पाहुना आए पनि त्यसमा बाह्य पर्यटकको सङ्ख्या न्यून रहेको सचिव रानाको भनाइ छ । “शुक्लाफाँटाकै होमस्टे जोडिएको छ, यहाँ आउने पर्यटकलाई बसोबासका लागि सहज र वन्यजन्तु हेर्न छेउमै शुक्ला छ ।” रानाले भन्नुभयो, “मुख्य कुरो प्रचारप्रसार नै राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा हुनै सकेन ।”

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई अवलोकन गराउने नेचर गाइड कुम ठाकुरले बाह्य पर्यटक यहाँ घुम्न आउँदा विशाल घाँसेमैदान, दुई हजार तीन सय भन्दा बढीको सङ्ख्यामा देख्न पाइने बाह्रसिङ्गा र सयौँ प्रजातिका चराचुरुङ्गीमा लोभिने गरेको बताउनुभयो । “चराचुरुङ्गीका लागि राम्रो वासस्थान भएकाले यहाँ चरा हेर्न आउने बाह्य पर्यटक खुसी भएर जान्छन्”, दश वर्षदेखि नेचर गाइडको काम गरिरहेका ठाकुरले भन्नुभयो, “सन् २०२० भ्रमण वर्षका बेला भने बाह्य पर्यटक राम्रै सङ्ख्यामा आएका थिए ।
शेर बहादुर सिंह रासस

Leave A Reply

Your email address will not be published.