काँग्रेसले माग्यो शैल्यशिखर नगरपालिकासँग हिसाव

दार्चुला:- दार्चुलाको शैल्यशिखर नगरपालिकाका सँग नेपाली काँग्रेसले हिसाव माग गरेको छ । आइतवार नेपाली काँग्रेस शैल्यशिखर नगरसभापति मोहन सिंह साउँद, सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य राजेन्द्र सिंह विष्ट, निवर्तमान नगरप्रमुख अमर सिंह धामी लगायतका नेताहरुको टोलीले प्रमुख प्रसासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टलाई ज्ञापनपत्र बुझाउदै गत आर्थिक वर्षको हिसाव माग गरेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा गरेका सम्पूर्ण कामकाज, योजना तथा कार्यक्रम, नगरपालिका अन्तर्गतका स्थायी, करार, ज्यालादारी सम्पूर्ण कर्मचारीहरुको विवरण, एक वर्षको अवधिमा नगरपालिकाले इन्धनमा गरेको खर्च, सवारी साधन मर्मत, घरभाडा, सवारी साधन भाडा र कर्मचारीहरुको टिएडिए लगायत विषयमा सूचनाको हक अन्तर्गत शैल्यशिखर नगरपालिकासँग विवरण माग गरिएको निवर्तमान नगरप्रमुख एवं काँग्रेस नेता अमर सिंह धामीले जानकारी दिए ।
बिगतमा नगरपालिकाका करार कर्मचारी हरुको म्याद नथपी हटाइएको र अहिले सम्म उनीहरुको तलब समेत नहाल्नु लाजमर्दो कुरा भयो, नेता धामीले भन्नू भयो।
त्यस्तै गएको असार अन्तिम तिर नगरपालिकाले मनपरि ढङ्गले सडकको कोटेसन समेत बाडेको उहाँले आरोप लगाउनु भयो।

यस्तै गोकुलेश्वर बजारको फोहोर व्यवस्थापनको लागि डम्पिङ साइडको बारेमा नगरपालिकाले स्पष्ट धारणा समेत सार्वजनिक गर्नुपर्ने माग गरिएको र विगत सरकारले नीतिगत रुपमा गरेका केही योजना कार्यान्वय नभएको बारे पनि ध्यानाकर्षण गरिएको नेपाली काग्रेस शैल्य शिखर नगर सभापति मोहन साउदले बताए । गत आर्थिक वर्षमा नगरपालिकाले भुक्तानी दिएका कार्यक्रम, योजनाहरूको बैंक स्टेटमेन्टसहितको विवरण समेत उपलब्ध गर्न माग गरेका छौ, सभापति साउदले भन्नू भयो।

Leave A Reply

Your email address will not be published.