दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाले भ्रमणमा १० लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षमा पालिकाको आन्तरिक स्रोतबाट विनियोजन गरिएको १० लाख रुपैयाँ भ्रमणमै खर्च भएको हो । यस्तै संघीय सरकारको राजश्व बाँडफाट स्रोतबाट कर्मचारी भ्रमण खर्चमा २० लाख ९६ हजार १ सय २१ रुपैयाँ र पदाधिकारी भ्रमणमा ८ लाख खर्च भएको नगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै नगरपालिकाले विपद व्यवस्थापनमा ३९ लाख ९८ हजार ७ सय ८७ रुपैयाँ खर्च गरेको छ भने आर्थिक सहायता र अन्य गरी २९ लाख ८० हजार खर्च गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा १५ लाख घरभाडामा खर्च भएको जनाएको छ । गत वर्ष निर्वाचित नयाँ जनप्रतिनिधिहरुले सरकारी भवन प्रयोग गर्ने भनेर कामकाज सरकारी भवनबाटै गरेपनि भाडा भने १५ लाख खर्च भएको पाइएको छ । यस्तै अन्तर्राष्ट्रिय महिला दिवसमा ५ लाख रुपैयाँ खर्च भएको छ भने सवारी साधन तथा मेसिनरी भाडामा ४३ लाख ८३ हजार ५०० खर्च लागेको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा विनियोजित स्वास्थ्यमा १० लाख, महिला स्वास्थ्य स्वयमसेविका यातायात खर्च ३ लाख ३० हजार र अनुगमन मूल्यांकन खर्च २ लाख रुपैयाँ भने खर्च नभएको जनाइएको छ ।