भेटेरिनरीको भत्किएको घेर पर्खाल पुनः निर्माण गरिदै, प्रक्रिया नपुर्याइ सुरु गरेको भन्दै निवेदन

दार्चुला : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले प्रक्रिया नपुर्याइ घेरपर्खाल निर्माण गरेको भन्दै प्रशासनमा निवेदन परेको छ । स्थानीय ठेकेदारका रुपमा चिनिने भक्तराज निरौलाले प्रक्रिया नपुर्याइ निर्माण गरिन लागिएको घेर पर्खालको छानबिन गरी दिन माग बिहीवार प्रशासनमा निवेदन दर्ता गराएका हुन् । उनले दर्ता गराएको निवेदनमा अख्तियारीसमेत प्राप्त नभएकाले हचुवाको भरमा स्वार्थको नियत राखि कुनै व्यक्तिबाट निर्माणको काम संञ्चालन गरिएकाले उक्त काम रोक्न भनेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको कार्यालय पछाडी रहेको घेरपर्खाल भत्किएको थियो ।

भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टले गत वर्ष नै जेसीबीले साइड लगाउने बेला घेर पर्खाल भत्काएपछि अहिले उक्त क्षेत्रमा काम गर्न लागिएको बताए । कार्यालयले ५ लाख रुपैयाँ बजेटमा काम भइरहेको उनले बताए । उक्त पर्खालका विषयमा निवेदन परेकाले तत्कालका लागि निर्माण कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख स्वास्थ्य उपचारका लागि जिल्ला बाहिर छन् । प्रशासनले कार्यालयलाई कारणसहित स्पष्टिकरण पेश गर्न आइतवारसम्मको समय दिएको छ ।

health
Leave A Reply

Your email address will not be published.