पदक विजेता पाल र बोहरालाई मालिकार्जुनको ५ नम्बर वडाले नगदसहित सम्मान गर्ने

दार्चुला : भारत्तोलनको जुनियर एसियन च्याम्पियनसिप र १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता मालिकार्जुन गाउँपालिका–५ का खेलाडीलाई वडाले नगदसहित सम्मान गर्ने भएको छ । भारतमा भएको एसियन युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक बिजेता दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाँकोट पुर्खौली घर भएका हेमन्त पाल र १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जुनियरतर्फ त्रिपलजम्पमा दोस्रो स्थानको पदक बिजेता हिमानी बोहरालाई मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ५ ले नगदसहित सम्मान गर्ने भएको हो ।

बिहीवार दार्चुलामा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष मदन चन्दले वडाले पदक बिजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका हुन् । उनले घोषणा गर्नु भए अुनसार भारत्तोलनका खेलाडी पाललाई नगद १ लाख र जुनियरतर्फको त्रिपलजम्पका खेलाडी बोहरालाई ५० हजार रुपैयाँसहित सम्मान गरिनेछ । मालिकार्जुन गाउँपालिका–५ घर भएर हाल महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका–६ हल्दुखाल बस्ने हेमन्त पालले भारतको नयाँ दिल्लीको नोयडास्थित गौतम बुद्ध युनिभर्सिटीमा भएको भारत्तोलनको जुनियर एसियन च्याम्पियनसिपमा तीन काँस्य पदक जितेका छन् ।

१७ वर्षीय पाल ७३ किलोग्राम तौल समूहका भारत्तोलक हुन् । पालले स्न्याचमा ८७ केजी र क्लिन एण्ड जर्कमा १२० केजी भार उठाएर दुईवटा काँस्य पदक जितेका छन् भने स्न्याच र क्लिन एण्ड जर्क दुबैको टोटलमा पनि २१७ केजी भार उठाएर तेस्रो काँस्य पदक जितेका छन् । एसियन युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालले ३८ वर्षपछि पदक जित्न सफल भएको हो । यसअघि सन् १९८५ मा काठमाडौंमा भएको जुनियर च्याम्पियनसिपमा महेन्द्रनगरका श्याम हमालले कांस्यपदक जितेका थिए ।

यस्तै १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जुनियरतर्फ त्रिपलजम्पमा मालिकार्जुन गाउँपालिका–५ डाडाकोट घर भएकी १८ वर्षीया हिमानी बोहरा सुदूरपश्चिम प्रदेशमा पहिलो तथा राष्ट्रिय प्रतियोगितामा दोस्रो भएकी थिइन् । उनले त्रिपलजम्पको जुनियरतर्फ १३÷५० मिटर पार गरेकी छन् । वडाअध्यक्ष चन्दले आफू पनि पहिला खेलाडी भएको र खेलप्रेमी भएको नाताले वडाबाट बजेट विनियोजन गरी वडा र समग्र देशको नाम उच्च राख्न योगदान दिने खेलाडीलाई सम्मान गर्न लागेको बताए । उनीहरुलाई वडा कार्यलयमै बोलाई सम्मान गरिने जनाइएको छ । साथै उनले खेलाडीको हौसला र प्रोत्साहनका लागि अन्य स्थानीय तह र सरकारले सम्मान र पुरस्कार दिनुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.