दार्चुला : पछिल्लो समय व्याँस गाउँपालिकामा भइरहेका गैरजिम्मेवार र विभिन्न टिकाटिप्पणीप्रति नेपाली काँग्रेस दार्चुलाले ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसले बिहीवार एक प्रेस विज्ञप्ती जारी गर्दै जनजीविका सँग जोडिएका विषयमा नेपाली काँग्रेस व्याँस गाउँपालिकाले पालिकासँग सूचना माग गरेकोमा त्यो प्राप्त हुन नसकेपछि गाउँपालिकामा तालाबन्दी गरेको तथा गैरजिम्मेवार बनी जबरजस्ती ताला तोडिएको र सामाजिक सन्जालमा भएका अश्लील शब्द र विभिन्न टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाली काँग्रेस दार्चुलाका सह–सचिव राजु अवस्थीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा समस्याको समाधान छलफल र बहसबाट हुने हुँदा जबरजस्ती ताला तोडी काँग्रेसले उठाएका जनपक्षीय मागहरुको सम्बोधन नै नगरी अराजक शैली अपनाएको जनाइएको छ । काँग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई सामाजिक सन्जालमा सामाजिक द्धन्द्ध सृजना गर्ने र अश्लील गाली गलौच नगर्न पनि भनेको छ । ज्ञापनमा भनिएको छ – ‘जायज र जनताको आवश्यकता सँग जोडिएका मागहरु सम्बोधन गर्नुपर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत सबै जनप्रतिनिधिको दायित्व हो । तर आफ्नो जिम्मेवारी दायित्वबाट पन्छिएर तपाईले उठाउनुभएका मागहरु मैले सम्बोधन गर्न सक्दैन, मेरो सरोकारको विषय पनि होइन भनेर अलोकतान्त्रिक दंगले दादागिरी र दम्भको शैलीमा जिल्ला प्रशासन, प्रहरी प्रशासनलगायत कुनै पक्ष र निकायसँग छलफल नगरी गाउँपालिका उपाध्यक्षले काँग्रेसले लगाएको ताला आफैले तोड्ने अराजक शैलीप्रति नेपाली काँग्रेस दार्चुलाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
व्याँसको विकासका लागि नेपाली काँग्रेस सधै रचनात्मक सहयोग गर्न तयार रहेको बताउँदै जनताको मन र मतबाट निर्वाचित जनप्रतिनिधिले पदीय मर्यादा र जनजीविकाका सवालमा गम्भीर हुनुपर्ने जनाएको छ ।