दार्चुला – नेपाली कांग्रेस ब्याँस गाउँपालिकाले गाउँपालिकाको स्वास्थ्य र पशु शाखा बाहेक सबै शाखाहरुमा तालाबन्दी गरेको छ । कांग्रेस ब्याँसले पालिकाले मागहरु पुरा नगरेको भन्दै गाउँपालिकामा तालाबन्दी गरेको हो । साउन २८ गते गाउँपालिकाको अध्यक्षको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र उपाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको कांग्रेसले आज स्वास्थ्य र पशु शाखा बाहेकका सबै शाखाहरुमा तालाबन्दी गरेको बताइएको छ । पालिकाले आफूहरुका मागहरु सम्बोधन नगरेका कारण गाउँपालिकामा थप तालाबन्दी गर्नु परेको नेपाली कांग्रेस ब्याँस गाउँकार्य समिति सभापति नरेन्द्र दत्त भट्टले जानकारी दिनुभयो ।
साउन २८ गते कांग्रेसले गरेको तालाबन्दी पछि गाउँपालिकाका उपाध्यक्ष विनोद कुवरले आफ्नो कार्यकक्षको ताला तोडेपछि गाउँपालिका संग कांग्रेसको झन विवाद बढेको हो । कांग्रेसले राखेका माग सम्बोधन गर्ने तर्फ गाउँपालिकाको ध्यानाकर्षण हुनुपर्ने बेला उपाध्यक्ष आफैले ताला तोड्नु गलत भएको कांग्रेसले ठहर गरेपछि आज उपाध्यक्ष विनोद कुवरले ताला तोडेर गल्ती गरेको महसुस गरेको कांग्रेसले जनाएको छ । कांग्रेसले साउन २२ गते एक हप्ता भित्र मागहरु सम्बोधन गर्न भन्दै पालिकालाई माग सहितको ज्ञापन पत्र बुझाएको थियो ।
कांग्रेसले दार्चुला–तिंकर सडक यथाशिघ्र सूचारु गर्नका लागि पहल गर्नुपर्ने, सुपथ मूल्यमा नुन उपलब्ध गराउनु पर्ने, रिपुधारमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्नुपर्ने, लम्पी स्कीन पशुरोग पिडित किसानलाई उचित राहतको व्यवस्था गर्नुपर्ने, विना कारण करार कर्मचारी हटाउने निर्णय खारेज गर्नुपर्ने, राप्ला र श्रीवगड–बनानी–माल जोड्ने सडक निर्माणको काम तत्काल गरिनुपर्ने, २०७९ देखी २०८० को गाउँसभा सम्मको कार्यपालिका बैठकको फोटोकपी उपलब्ध गराउनुपर्ने र ब्याँस घोरेटो बाटो, तिग्रम सडक, राष्ट्रिय स्तम्भ,एवं ब्याँस कृषि नमुना बगँैचा स्थापना कार्यक्रममा भएका भुक्तानी सम्बन्धी आवश्यक कागजपत्र उपलब्ध गराउनु पर्ने माग राख्दै गाउँपालिकामा तालाबन्दी गरेको हो । मागहरु सम्बोधन नहुन्जेल सम्म तालाबन्दी जारी रहने तथा थप आन्दोलनका कार्यक्रमहरु गर्ने कांग्रेस ब्याँसले जनाएको छ ।
