दार्चुला – दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ स्थित व्यासऋषि मन्दिर छेउको महाकाली संगममा शिवलिङ्ग भेट्टिएको छ । व्यासको छाङ्गरु गाउँ निवासी ४८ वर्षिय गोपाल सिंह बोहराले साउन ३२ गते विहान शिवलिङ्ग भेट्टाएका हुन् ।
बोहरा गत जेठ १३ गतेदेखि व्यास ऋषि मन्दिरमा साधनारत छन् । मन्दिर परिसरमा लगातार साधनारत बोहराले विहिवार विहान साढे ७ बजे शिवलिङ्ग भेट्टाएका हुन् । नेपाल र भारतको सिमा जोडिएको सितापुल छेउमा रहेको व्यासऋषि मन्दिरमा बोहरा एक्लै दुइ महिनादेखि साधनारत छन् ।
विहिवार विहान महाकाली र तिंकर नदीको संगममा स्नान गर्नेक्रममा शिवलिङ्ग भेट्टाएको उनले बताए। ‘नदी संगममा रहेको एउटा ठूलो ढुंगामा उभिदा ढुंगा हल्लिएको र त्यसको मुनितिर हेर्दा शिवलिङ्ग फेला परेको’ उनले बताए ।
व्यासऋषिको तपस्यास्थलमा शिवलिङ्ग भेटिनुले आस्थावान सबैलाई खुशी र प्रेरित बनाएको छ । शिवलिङ्ग भेटिएकै दिन छाङ्गरु गाउँका स्थानीय वासिन्दाले सामूहिक रुपमा पूजापाठ गरी शिवलिङ्गलाई मन्दिरमा स्थापना गरेका छन् ।
भेट्टिएको शिवलिङ्गको लम्बाई एक फुट छ भने ४ इन्चको गोलाइ छ । प्राकृतिक रुपमा शिवलिङ्ग भेट्टिनुले व्यासक्षेत्रको पवित्रता र महत्व उजागर हुने व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराको भनाई छ ।