दार्चुला : वर्षामा सडक अवरुद्धको समस्या रहेको दुहुँ र व्याँस गाउँपालिकामा विद्युतको समस्या पनि थपिएको छ । जिल्लाको दुहुँ र व्याँस गाउँपालिकामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । दुहुँ गाउँपालिका–३ सिमलीमा वर्षाका कारण विद्युतको पोल ढल्दा सेवा अवरुद्ध भएको हो । विद्युत अवरुद्ध हुदाँ दुहुँ र व्याँसका बासिन्दा अन्धकार र संचारविहीन बनेका छन् । विद्युत कार्यालयले मर्मतमा चाँसो नदेखाउँदा तीनदिनदेखि अन्धकारमा बस्न बाध्य भएको त्यहाँका स्थानीयहरुले बताएका छन् ।
अहिले त्यस क्षेत्रका स्थानीयका मोबाइल, फोन स्वीच अफ भएका छन् । शनिवार मात्रै त्यहाँको विद्युत मर्मत गरिएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाका अनुुसार शनिवार प्राविधिक कर्मचारी खटिएर विद्युत मर्मत गरिएको हो ।
विद्युत मर्मत गरिएपश्चात केहि छिनपछि पुनः विद्युत अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । फिल्ड कर्मचारी अभाव र यहि बीचमा गौरा पर्व पनि पर्दा मर्मतमा केहि ढिलाइ भएको वितरण केन्द्रका प्रमुख सापकोटाले बताए । यस्तै शुक्रवार महाकाली नगरपालिका–३ बडालीगाउँमा पनि पोल ढल्दा अवरुद्ध भएको विद्युत आजै सुचारु गरिएको छ । हिजोआज बिजुली घरीघरी आउने र घरीघरी जाने हुदाँ सेवाग्राहीले हैरानी खेपिरहेका छन् ।