बीरे जात्राका लागि अपिहिमालमा ३ दिन सार्वजनिक बिदा

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ । प्रख्यात धार्मिक सुर्माभवानी मन्दिरमा लाग्ने बीरे जात्राको अवसरमा गाउँपालिकाभरि तीन दिन सार्वजनिक बिदा दिइएको हो । जात्राको अवसरमा सोमबारदेखि बुधवारसम्म तीन दिन पालिकाभरी सार्वजनिक बिदा दिइएको गाउँपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ । लामो समयसम्म मनाइने सुर्माभवानीको विधिवत रुपमा जात्रा शनिबारबाट सुरु भएको छ । दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ ।

सुर्माभवानी जात्रा औसीदेखि १७ दिन र रतेडीदेखि सात दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ । अपिहिमाल गाउँपालिकाको घाँजिर हुँदै बझाङ जिल्लाको सुर्मा सरोवरको सीमासम्म यो जात्रा मनाइन्छ । सुर्माभवानी बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलय भएको किंवदन्ती रहिआएको छ । सोही कारण सुर्मा तालमा अपि हिमालको खण्डेश्वरीबाट जाने तिर्थालुहरुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तिर्थालुहरुले पूजागर्ने चलन रहेको स्थानीय कमलसिह धामी बताउँछन् ।

जात्राको लागि क्षेत्ती पूख्र्याैली घर भएका स्थानीय र घाजिर घर भएका समुदायका तिर्थालुहरुले औसी देखिनै एक छाक मात्र खाएर सुर्मा भवानीको ब्रत बस्नुपर्ने परम्परा छ । सुर्मासरोवर तिर्थ जाने ब्रतालु भक्तहरुलाई बीरे भनिन्छ । बीरे दुई प्रकारका हुन्छन् । जसमा पहिलो पटक जानेलाई बालो विरे र पटक–पटक गएकालाई बुढोबीरे भन्ने चलन छ । जसअनुसार सहभागि हुने क्षेत्ति घर भएका ठेकरे, बोहरा, धामी, वैरे समुदायका भक्तजनहरुलाई उवादेशी, घाजिर घर भएका स्थानीय भक्तजनहरुलाई उनादेशी, तथा खण्डेश्वरी भित्र बसोबास गर्ने, रोकाया, कार्कीलाई वाइदेशी भन्ने चलन छ । सुर्माभवानी जात्रामा सहभागि हुने भक्तजनहरुलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु मदिराजस्ता भोजन निषेध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.