दार्चुला : सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेको जिल्ला अस्पताल दार्चुलाले विभिन्न सेवाग्राहीलाई निशूल्क सेवा प्रदान गर्ने भएको छ । मंगलवार बसेको जिल्ला अस्पताल व्यवस्थापन समितिको बैठकले लक्षित सेवाग्राहीलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवा निशूल्क गर्ने निर्णय गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिता पुजाराले जानकारी दिए । उनका अनुसार अनाथ, बेसाहारा बालबालिकालाई परिचयपत्रका आधारमा अस्पतालबाट प्रदान गरिने सेवाहरु पूर्ण निशुल्क गर्ने निर्णय भएको छ । यस्तै आकस्मिक रुपमा विद्यालयमा बिरामी भइ अस्पतालको आकस्मिक कक्षमा राखी उपचार गर्नुपर्ने बिरामीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा टिकट र ल्याव परिक्षण सेवा निशुल्क गरिने जनाइएको छ ।
जनआन्दोलन, जनयुद्ध लगायत नेपाल सरकारबाट सहिद घोषणा गरिएका एकाघर परिवार र घाइतेलाई परिचयपत्रका आधारमा अस्पतालबाट प्रदान हुने फार्मेसीबाहेक ओपीडी टिकट, स्वास्थ्य परिक्षणलगायत सेवाहरु निशुल्क गर्ने निर्णय भएको निमित्त मेसु पुजाराले बताए । यस्तै अस्पतालबाट प्रमाणित हुदैआएको निरोगिता प्रमाणपत्रको शूल्क समेत घटाइएको छ । यसअघि निरोगिताको प्रमाणपत्र शुल्क ४ सय लिइदै आएकोमा भोलिदेखि लागू हुने गरी उक्त शूल्क १ सय रुपैयाँ कायम हुने अस्पतालले जनाएको छ । यसमा स्वास्थ्य परिक्षणको शूल्क थप लाग्नेछ ।