दार्चुलाको दुहुँ गाउँपालिकामा आवासीय अनाथालय

दार्चुला : दुहुँ गाउँपालिकाले आवाससहितको अनाथालय संचालनमा ल्याएको छ । गाउँपालिकाका भित्रका अनाथ, टुहुँरा बालबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारीसहित गाउँपालिकाले वडा नम्बर ४ धारीमा आवाससहितको अनाथालय संचालनमा ल्याएको हो । आवासीय अनाथालय भवनको एक कार्यक्रमका बीच शुक्रवार गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडाल र पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले संयुक्त रुपमा उद्घाटन गरे ।

‘टुहुँरा बालबालिकाको सहारा, दुहुँ गाउँपालिका’ भन्ने ध्येयका साथ पालिकाभित्रका टुहुरा बालबालिकाका लागि आवासीय अनाथालय स्थापना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले बताए । उनले भने– ‘अनाथ बालबालिकाको अभिभावक अब दुहुँ गाउँपालिका बनेको छ, कुनै पनि बालबालिकाले टुहुँरो भएको अनुभूति गर्नुपर्ने छैन् ।’ अनाथ, टुहुँरा बालबालिकाको खाने, बस्ने र शिक्षाको व्यवस्थापन पालिका आफैले गर्ने  दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले बताए । दुहुँ गाउँपालिका–४ धारीमा आवास भवन निर्माण गरिएको छ, भने सोही ठाउँमा रहेको धारीपाटा मावि धारीमा विद्यार्थीको अध्ययनको व्यवस्थापन मिलाइएको छ । उक्त आवासमा अहिले १२ जना विद्यार्थी बस्ने भएका छन् । यस्तै आवासीय भवनमा एक जना शिक्षक र एक जना भान्छेको व्यवस्थापन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.