लेकमका कर्मचारीहरुले बिरोधस्वरुप निजामती सेवा दिवस नमनाउने

Krishna

दार्चुला-दार्चुलाको लेकम गाउँपालिकाका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने जनाएका छन् । प्रस्तावित निजामती सेवा ऎनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा नसमेटिएकोमा बिरोधस्वरुप भदौ २२ को निजामती सेवा दिवस नमनाउने जनाउँदै मङ्गलबार विभिन्न मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको छ ।
ऎनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा नसमेटदा कर्मचारीहरु बीच विभेद भएको ठहर गर्दै निजामती सेवा दिवस मनाउन उपयुक्त नठानी भदौ २२ गते विरोधस्वरुप कालोपट्टी बाधी विरोध जनाउने निर्णय भएको लेकम गाउँपालिकाका सूचना अधिकारी शेखर चन्द्र ओझाले जानकारी दिए ।
लेकम गाउँपालिकामा कार्यरत कर्मचारीहरुले गाउँपालिकाका अध्यक्ष राम दत्त जोशीमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिहंदरवार काठमाडौं र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढीलाई ज्ञापन पत्र बुझाएको उनले बताए ।
उनीहरुले बुझाएको ९ बुद्दे ज्ञापनपत्रमा संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवामा मात्रै हुनु पर्ने, सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रिय प्रणालीमा हुनु पर्ने, निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरुलाई समेट्नु पर्ने, सबै तहका कर्मचारीहरुको सेवा सुविधा र वृति विकास सम्बन्धमा विभेद नभई समान हुनु पर्ने, सबै तहमा कार्यरत कर्मचारीहरुलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेरहद नलगाउनु पर्ने, सबै तहका कर्मबचारीहरुको वृति विकासको बाटो खुला गर्ने र उमेर हद हटाउनु पर्ने, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाको हुनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभूती हुनुपर्ने माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.