दार्चुला : युवाहरुको झगडाको विषयलाई लिएर आफ्नो नाम जोडि चरित्र हत्या गर्न खोजिएको शैल्यशिखर नगरपालिकाका पूर्व नगरप्रमुख अमर सिंह धामीले बताउनुभएको छ । घटनामा आफ्नो संलग्नता नै नरहेकोमा केही संचारमाध्यममा मेरो निर्देशन र प्रत्यक्ष संलग्नतामा घटना घटेको भनेर राजनीतिक प्रतिसोध राखेर चरित्र हत्या गर्न खोजिएको उनले बताएका हुन् । भदौ २१ गते गौराका दिन शैल्यशिखर नगरपालिका–६ चैतलीचौरमा युवाहरुका दुई समूहबीच झडप भएको थियो । उक्त झडपमा दुईटै समूहका युवाहरु घाइते भएका छन् । झडपका एक घाइते मालिकार्जुनका दिनेश सिंह धामीको पक्षकाले यो घटना शैल्यशिखर नगरपालिकाका पूर्व नगरप्रमुख अमरसिंह धामीको निर्देशनमा भएको आरोप लगाएका छन ।
तर, यसमा पूर्व नगरप्रमुख धामीले आपत्ति जनाउँदै घटनामा आफू संलग्न नरहेको बताएका छन् । साथै उनले यस घटनाबारे समाचार लेख्ने संचारमाध्यमले आफूलाई नसोधी एक पक्षिय रुपमा समाचार लेखेकोप्रति आपत्ति जनाउनुभयो । ‘घटनामा मेरो संलग्नता छैन, खासमा यो घटना बारे मलाई जानकारी नै थिएन । झगडा भइसकेपछि मात्रै मलाई खबर आएको हो । त्यसपछि म त्यहाँ गएको र सम्झाइ बुझाइमा सहयोग गरेको हु । यो घटनामा मलाई बदनाम गर्नका लागि विभिन्न सामाजिक संजाल टिकाटिप्पणी भइरहेका छन् । मेरो चरित्र हत्या भएको छ’ धामीले भने ।
यस घटनामा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुखको नाम मुछिएकोप्रति पनि उनले आपत्ति जनाउनुभयो । पूर्व नगरप्रमुख धामीले संचारमाध्यमलाई सत्य तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गरि दिन आग्रह गरेका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले झडपमा दुबै पक्षका युवा घाइते भएको र दुबै पक्षबाट जाहेरी आएको बताएको छ ।