रहेनन् दार्चुलाका ‘जेरी बाजे’ चन्द

दार्चुला : जेरी बाजेको नामले परिचित दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ बाँकु, कमेडपानीका देव बहादुर चन्दको निधन भएको छ । केही समयदेखि फोक्सो सम्बन्धी रोगले ग्रसित चन्दको बिहीवार निधन भएको हो । चन जी जेरी पसलका नामले दार्चुला जिल्ला सदरमुकाममा थापेको उनको पसलमा सबैले जेरी मन पराउँथे । लामो समय जेरी पसल संचालन गरेर व्यवसाय गरिरहेका चन्द यहाँकै पहिलो जेरी व्यवसायी हुन् ।

चन्द २०६४ सालदेखि जिल्ला सदरमुकाम खलंगामा जेरी पसल थापेर व्यवसाय गर्दै आइरहेका थिए । सुरुमा ८०÷१०० रुपैयाँ प्रतिकिलोमा जेरी बेच्ने गरेको चन्दले केही महिना अगाडीको भेटमा बताएका थिए । ‘समय बदलियो, पैसा पनि बदलियो, अहिले प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्म बेच्ने गर्दछु,’ उनले भनेका थिए । समय र पैसा बदलिए पनि तर उनको पेशा भने बदलिएको थिएन् । उनको पसलको जेरी सर्वसाधारण देखि लिएर सरकारी कार्यालयहरुसम्म पुग्थ्यो । पसलसम्म पुग्ने बालकदेखि वृद्ध ग्राहकहरुसम्मलाई उनले जेरीको स्वाद चखाएरै छोड्थे ।

५ रुपैयाँ, १० रुपैयाँमा पनि जेरी पाइने भएकाले होला उनका ग्राहक नियमित र धैरै थिए । जेरी सँगसँगै उनले चिया र नास्ता पनि बनाउँथे । सानो टिनको छानामा संचालन गरिएको उनको पसलबाट बिहानै ४÷५ बजे सेवा लिन सकिन्थ्यो ।

Leave A Reply

Your email address will not be published.