महेन्द्र नमुना माविका प्रधानाध्यापक जोशीलाई राष्ट्रिय शिक्षा पुरस्कार

दार्चुला : दार्चुलाका शिक्षक राम दत्त जोशीलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय शिक्षा दिवस–२०८० को अवसरमा सार्वजनिक विद्यालयका शिक्षकतर्फको पुरस्कार महाकाली नगरपालिका–४ स्थितको महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशीलाई प्रदान गरिएको हो । जोशीले २०४५ भदौ १२ गतेदेखि शिक्षण पेशा सुरु गर्नुभएको थियो । मालिकार्जुन मावि धापबाट शिक्षण पेशा सुरु गरेका उनी २०४८ भदौ २५ गते स्थायी नियुक्ती हुनुभयो ।

त्यसपछि २०४८ पुस १ गते जिल्ला सदरमुकामस्थितको महेन्द्र माविमा सरुवा भए भने २०६३ माघ २३ मा बढुवामा परे । २०७० साउन २४ गतेदेखि महेन्द्र नमुना मावि खलंगाको प्रधानाध्यापक हुदै हालसम्म नेतृत्व गरिरहनु भएको छ ।

यस्तै विद्यालय व्यवस्थापन समिति पदाधिकारीतर्फको शिक्षा पुरस्कार मालिकार्जुन गाउँपालिका–८स्थितको शंकरपुर मावि पस्तीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश राज पन्तलाई प्रदान गरिएको छ ।

मन्त्रालयले यस वर्ष राष्ट्रिय शिक्षा पुरस्कार १ सय ६७ जनालाई दिने निर्णय गरेको छ । मन्त्रालयले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीतर्फ २५ जना, प्राविधिक शिक्षालयका कर्मचारीतर्फ ५ जना, सार्वजनिक विद्यालयका शिक्षकतर्फ ७२ जना, विद्यालय कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी र प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्तातर्फ ३४ जना र निजी विद्यालयका शिक्षक कर्मचारी र संस्थापकतर्फ ३१ जनालाई पुरस्कार दिने भएको हो ।

Leave A Reply

Your email address will not be published.