दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाले शिक्षकहरुलाई नियमित विद्यालयमा उपस्थित भएर पठनपाठन गर्न आग्रह गरेको छ । संसदमा दर्ता भएको नयाँ शिक्षा विधेयकको विरोधमा शिक्षकहरु विद्यालय बन्द गरी आन्दोलनमा उत्रेपछि गाउँपालिकाले विद्यालय नियमिति सञ्चालन गर्न आदेशसहित आग्रह गरेको हो । बालबालिकाको सिकाईमा बाँधा उत्पन्न हुनेगरी विद्यालय बन्द हड्ताल गर्ने कार्य कादापी स्वीकार्य नहुने भन्दै बुधवार एक सूचना जारी गर्दै गाउँपालिका भरीका विद्यालयहरु बिहीवारदेखि नियमित संचालन गर्न भनेको छ ।
साथै दुहुँ गाउँपालिकाले विद्यालयहरु नियमित अनुगमन गरी सोको जानकारी गराउनसमेत विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरुसँग आग्रह गरेको छ । विद्यालय बन्द गरी पठनपाठन लगायत नियमित कार्य संचालन नगर्ने प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई नियमानुसार कारवाही गरिने गाउँपालिकाले जनाएको छ । यसैबीच बिहीवार नेपाल शिक्षक महासंघ दुहुँ गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय समितिको निर्णय अनुसार सम्पूर्ण विद्यालयहरुको पठनपाठन लगायतका कार्य स्थगन गरी शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन आग्रह गरेको छ ।