दार्चुला प्रहरीको एक्सन : लागूऔषध दुव्र्यसन, गुण्डागर्दी र वेश्यावृत्तिविरुद्ध महाअभियान नै

बजारमा क्वुआरटी टोली पनि परिचालन

दार्चुला : दार्चुलामा शान्ति, सुरक्षा र अमनचयन लागि प्रहरी एक्सनमा उत्रिएको छ । गत भदौ २३ गते दार्चुला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरीक्षक (डीएसपी) शिव बहादुर सिंहले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाउन सुरु गरेका हुन् । प्रहरीले अहिले लागू औषध दुव्र्यसन, गुण्डागर्दी र वेश्यावृत्तिविरुद्ध महाअभियान संचालन गरेको छ । जिल्लास्थित सरोकारवाला निकाय र सम्बन्धित पक्ष सँग छलफल गरेर लागू औषध दुव्र्यसन, गुण्डागर्दी र वेश्यावृत्तिविरुद्ध महाअभियान नै चलाइएको डीएसपी शिव बहादुर सिंहले बताए ।

जिल्लामा प्रहरी परिचालन पनि बढाइएको डिएसपी सिंहले बताए । अहिले बजार क्षेत्रमा दुई टोली क्वीक रेस्पोन्स टीम (क्युआरटी) परिचालन गरिएको छ । त्यो टोलीले तुरुन्त घटनास्थल रिपोर्टिङ गर्ने र आवश्यक कारवाही गर्ने बताइएको छ ।

यस्तै प्रहरीले बजार क्षेत्रमा असभ्य भएर हिड्डुल गर्ने (ट्यापे), अशोभनिय रुपमा लामा कपाल राख्नेहरुलाई पनि सम्झाइ बुझाइ गर्ने र आवश्यक परे कारवाही गर्न पनि सुरु गरेको छ । यसैक्रममा दुई दिनको अवधीमा यस्ता प्रकृतिका दुई दर्जन व्यक्तिलाई सोही ठाउँमै कारवाही गरिएको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले अहिले बजार क्षेत्रका सम्पूर्ण होटल तथा पसलहरुमा जिल्ला प्रहरी प्रमुखको फोन नम्बर, सूचना अधिकारीको फोन नम्बर र निशूल्क तथा प्रहरी कन्ट्रोल नम्बर १०० लेखिएको “फोन पर्चा” पनि टाँस गरेको छ ।
यस्तै लागू औषध प्रयोगकर्ताहरुलाई निगरानीमा राखी सम्झाइबुझाइ गर्नुका साथै नियन्त्रणमा पनि लिइएको डीएसपी सिंहले बताए । सो क्रममा भदौ २६ गते मात्रै झण्डै ९ किलो चरेशसहित दुई जनालाई पक्राउ गरिएको थियो भने पछिल्लो समय आधा दर्जन बढी लागू औषध सेवनकर्तालाई नियन्त्रणमा लिइएको बताइएको छ ।

वेश्यावृत्तिविरुद्ध पनि प्रहरी सकृय भएर सदरमुकाम क्षेत्रका होटल तथा रेष्टुरेन्टमा चेकजाँच गरि केही होटलबाट बिस्तरा (खाँट) पनि उठाएर ल्याएको छ । प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा डीएसपी सिंहले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, सामाजिक अपराध, लागू औषध र अनैतिक क्रियाकलाप नियन्त्रणमा परिणाम आउने गरी काम गर्ने बताएका थिए ।

‘जिल्लाको शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान, झै झगडा, चोरी डकैती, लागू औषध नियन्त्रण गर्नेमा प्रहरी एक्सनमै उत्रेर काम गर्छ, डीएसपी सिंहले भने– ‘यसमा प्रहरी एक्लै सफल हुन सक्दैन् । सबै क्षेत्रको साथ र सहयोग आवश्यक हुन्छ, तब मात्रै हामी सफल हुन्छौ ।’ प्रहरीले चालेको यो महाअभियानमा साथ दिन उनले सबैमा आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.