सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगर्नुहोस् है ! गरे प्रहरीले पक्रला
सुर्तीजन्य पदार्थ सेवनविरुद्ध प्रहरी सचेतना फैलाउँदै
दार्चुला : दार्चुलामा प्रहरीले सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ सेवनविरुद्धको अभियान संचालन गरेको छ । जिल्लामा लागूऔषध विरुद्धको महाअभियान चलाइरहेको प्रहरीले धुम्रपान सेवनविरुद्ध पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको छ । प्रहरीले अहिले बजार क्षेत्रमा लागू औषधविरुद्धको महाअभियानअन्तर्गत सार्वजनिक स्थानहरुमा सूर्तिजन्य पदार्थ (चुरोट, सुर्ती, गुटखा, खैनी) सेवन नगर्न माइकिङ तथा जनचेतनामुलक कार्यक्रम गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, सार्वजनिक शौचालय, बसपार्क, टिकट काउन्टर, होटल, पार्क, धार्मिकस्थल, चौतारा, प्रतिक्षालयलगायतका सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न प्रहरीले सूचित गरिरहेको छ । सार्वजनिक स्थलमा धुम्रपान र सूर्तिजन्य पदार्थ सेवन गरेको पाइएमा कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले बताए ।
सार्वजनिक स्थलमा धूमपान गरे सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ अनुसार कारवाही हुन्छ । यो ऐनले २०६८ सालमै सार्वजनिक स्थलमा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको थियो । यद्धपी, यस ऐनको पूर्ण कार्यान्वयन भने भएको छैन् । ऐनका अनुसार, सार्वजनिक स्थलमा धूम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएमा तुरुन्त रोक लगाउने, रोक लगाउँदा नमाने वा पटक–पटक सेवन गरिरहे त्यस्तो स्थलबाट बाहिर निकाल्ने वा रू १०० जरिबाना तिराउने व्यवस्था छ । तर, यसमा स्थानीय सरकारले यसबारे सूचित गर्नुका साथै यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने भएपनि यहाँ यस्तो हुन सकेको छैन् ।
अहिले प्रहरीले बजार क्षेत्रमा दिनहुँजसो सार्वजनिक स्थानहरुमा सुर्तिजन्य पदार्थ सेवन नगरौँ, स्वस्थ रहौँ, खुसी रहौँ भन्ने नाराका साथ सचेतना कार्यक्रम गरिरहेको छ ।