दार्चुला : दार्चुलामा नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीको पानीको गुणस्तर मापन (जाँच) गरिएको छ । महाकाली नदीको नेपालतर्फ चार ठाउँमा पानी संकलन गरी गुणस्तर मापन गरिएको हो । एसआइडिएको आर्थिक तथा अक्सफाम नेपालको प्राबिधिक सहयोगमा सीआरडीएस नेपालद्वारा दार्चुला जिल्लामा संचालित ट्रोसा दोस्रो परियोजनाले पहिलोपटक महाकाली नदीको पानीको गुणस्तर मापन (जाँच) गरेको बरिष्ठ परियोजना संयोजक मानसिंह कार्कीले जानकारी दिए ।
महाकाली नदीतटीय क्षेत्र व्याँस गाउँपालिका–५ तिगरम, महाकाली नगरपालिका–४ पुलघाट, महाकाली नगरपालिका–९ दत्तु र मालिकार्जुन गाउँपालिका–७ जोलजिवी पुल क्षेत्रमा पानीको गुणस्तर मापन गरिएको उनले बताए । पानी गुणस्तर जाँच सम्बन्धी तालिम लिएका महिला सशक्तिकरण केन्द्रका सदस्य लोक वैज्ञानिकहरु परियोजनाका कर्मचारीको सहभागितामा चार ठाउँमा एकै पटक पानी जाँच गरिएको हो । गुणस्तरका लागि १० प्यारामिटरमा आधारित रहि जाँच गरिएको थियो । पिएच (पानीको गुणस्तर), आईरन, नाईटेड, फस्पोरस, क्लोराइड, हार्डनेश, क्लोरिन, तापक्रम, एमोनियाको जाँच गरिएको संयोजक कार्कीले बताए ।
परियोजनाले पानी जाँच पहिलो पटक सुरु गरेको र आगामी दिनमा मासिक रुपमा नियमित जाँच गर्ने योजना रहेको जनाएको छ । यस्तै पानी जाँचका लागि पानी गुणस्तर मापन कीट चार वटै ठाउँमा उपलव्ध गरिएको छ । परियोजनाले दार्चुला जिल्लामा महिला सशक्तिकरण केन्द्रहरु गठन गरी १० वटा महिला सशक्तिकरण केन्द्रमार्फत महाकाली नदी तटिय क्षेत्रका महिलाहरुको पानी सुशासनका माध्यमबाट सामाजिक, आर्थिक सशक्तिकरणका साथै जीविकोपार्जन र जलवायु अनुकुलनका क्षेत्रमा काम गरिरहेको परियोजनाले जनाएको छ । महाकाली नदीको पानी खासगरी सिँचाइ, सरसफाइ र मत्स्य पालनका लागि उपयोग हुदै आएको छ ।